बाग्लुङ- नेपाल नेत्रज्योति संघ धौलागिरी आँखा अस्पतालद्धारा संचालन गरिएको निःशुल्क आँखा शिविर मार्फत ८सय ८६ जना सेवाग्राही लाभान्वित भएका छन्। अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाँउपालिकामा संचालन गरेको शिविर मार्फत ८८६ जनाको आँखा परिक्षण गरिएको थियो।
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको उक्त शिविरमा जाँच गर्दा आँखामा समस्या देखिएका २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र मोतिबिन्दु देखिएका २४ जना बिरामीहरुको समेत नि:शुल्क रुपमा शल्यक्रिया गरिनेछ। आर्थिक अभावमा कोहि पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन् भनेर अस्पतालले विभिन्न निकायहरुसंगको साझेदारीमा वार्षिक रुपमा निःशुल्क शिविरहरुको आयोजना गर्ने गर्दछ।
वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन्। संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत वार्षिक ३० लाख बिरामीको आँखा जाँच हुने गर्दछ।