काठमाडौंं- थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। थाइराइड फाउन्डेसनले सोमबार अदिती फार्मेसीको सहकार्यमा इमाडोल, ललितपुरस्थित कृष्णन्दिरमा एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो।
शिविरमा थाइराइड रोग सम्बन्धी विशेषज्ञले परामर्श दिनुको साथै सहभागीहरुको निःशुल्क थाइराइड परीक्षण तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रममा थाइराइड फेडेरेसन इन्टरनेसनल (टीएफआई) का अन्तर्राष्ट्रिय अध्यक्ष डा. अशोक भासिनले स्थानीयबासिन्दासँग थाइराइड रोगसम्बन्धी अन्तरक्रिया गरेका थिए।
उक्त शिविरबाट दुई सय बढी लाभान्वित भएका छन्। जसमध्ये १ सय ५० जनाको थाइराइड परीक्षण भएको थियो।
डा. भासिनकै नेतृत्वमा चार जना विशेषज्ञ सहितको टोलीले शिवरमा सेवा दिएको थाइराइड फाउन्डेसन अफ नेपालका उपाध्यक्ष महेन्द्रराज भुसालले जानकारी दिए।
उनका अनुसार थाइराइड फेडेरेसन इन्टरनेसनलले विश्वव्यापी रुपमा थाइराइड रोग पुनर्रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको छ।
सो संस्थासँग आवद्ध रहेको थाइराइड फाउन्डेसन अफ नेपालले पनि थाइराइड रोगको रोकथामको लागि काम गर्दै आएको छ।
थाइराइड फाउन्डेसन अफ नेपालले वर्षमा एकपटक विभिन्न स्थानमा थाइराइड रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।
कार्यक्रममा डा. भासिनको अलावा थाइराइड फाउन्डेसन अफ नेपालका अध्यक्ष सुरेन्द्र बीसी, उपाध्यक्ष महेन्द्रराज भुसाल, महासचिव गान्धीप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।