काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) ले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुमाथि अन्याय गरेको भन्दै आवाज उठाइरहेका चिकित्सकहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
कलेजले पहिलो चरणमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरेर त्यसको सुरुवात गरेको छ। कलेजले बिहीकार एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।
डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए। उनीहरुले पाठ्यक्रममा समावेश नभएका क्रियाकलापहरुमा पनि अस्पतालको अनुरोधमा पटक पटक क्याम्प र पोस्टिङमा खटाउँदा पठन पाठनमा समस्या भइरहेको साथै क्याम्प खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरेका थिए। उनीहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए।
विद्यार्थीहरुले शिविरका क्रममा कलेज प्रशासन एक छाक मात्र खान दिने, रातभर यात्रा गराए बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एक जना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको लगायतका समस्या देखिएको भन्दै शिविरका नाममा हुने अमानवीय व्यवहार रोकिनु पर्ने बताउँदै आइरहेका थिए।
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्। उनीहरुले अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन्। डा दाहालमाथि गरिएको कारबाही फिर्ता नभए शुक्रबार १ बजेपछि सम्पूर्ण काम छाड्ने चेतावनी विद्यार्थीहरुले दिएका छन्।
कलेज प्रसासनले डा दाहालले रेडिडेन्ट डाक्टरले पालना गर्नुपर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको आरोप लगाउँदै एक महिनाका लागि निलम्बन गरेको जनाएको छ। केएमसीले बिहीबार काठमाडौंको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र यसअघि बुधबारको विभागीय प्रमुखसँगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको भन्दै दाहाललाई निलम्बन गरेको जानकारी दिएको छ।
कलेज प्रशासनले डा दाहाल निशुल्क स्वास्थ्य शिविरमा नखटिएको भन्दै निलम्बन गरेपनि केएमसीका आवासीय चिकित्सकहरुले पाठ्यक्रम भन्दा बाहिरका यस्ता शिविरमा संलग्न नहुने भन्दै आइतबार नै सामुहिक पत्र कलेज प्रशासनलाई बुझाएका थिए।
उक्त पत्रमा आवासिय चिकित्सकहरुले रेजिडेन्टको आधा समयमा अस्पताल बाहिर खटाउन थालेको भन्दै आफ्नो सिकाइ र अध्ययनमा गम्भीर असर पर्न थालेको समेत उल्लेख गरेका छन्। आवासीय चिकित्सकहरुले आफुहरुलाई राजनीतिक दाउपेचमा प्रयोग गर्न लागेको आफूहरुलाई आभास भएको समेत बताएका छन्।
डा दाहालले अन्याय र विद्यार्थीमाथि भइरहेको अमानवीय व्यवहार विरुद्ध बोल्दा कारबाही गरिएको बताए। उनले अन्याय विरुद्ध निलम्बन मात्र होइन निष्कासन नै गरे पनि बोल्न नछाड्ने प्रतिक्रिया दिएका छन्।
केएमसीको सञ्चालक नेपाली कांग्रेसका सांसद सुनिल शर्मा हुन्।