काठमाडौं- तीन हप्ताअघिको कुरा हो, डा समिर लामाले स्वास्थ्यखबरको एक समाचारको स्क्रिन सट राखेर फेसबुक लेखे- 'प्रेमीले विवाहको लागि लाखौं दाइजो मागेपछि एक डाक्टरले आत्महत्या गरिन्। नेपाली मिडियामा समाचार आयो। अर्का रेजिडेन्ट डाक्टरले रेजिडेन्सीको अमानवीय पेलाई र मानसिक तनाव झेल्न नसकेर आत्महत्या गरे। त्यो समाचार आएन। नेपाली मिडियाले नेपाली रेजिडेन्ट डाक्टरहरुले भोग्नुपरिरहेको अत्यधिक पेलाई, तलब नपाउने, मानसिक समस्या बारे लेख्नु जरुरी भइसकेको छ।'
डा लामाले औंल्याएको विषय उठाउन जरुरी लागेको भएर उनको फेसबुक स्टाटस कपी गरेर राखेको थिएँ। नेपालमै रेसिडेन्सी सकेर विदेशिएका डा समिर आफैं पेलाइका भुक्तभोगी होलान्। त्यसैले भारतमा रेसिडेन्सीको पेलाइ खप्न नसकेर आत्महत्या रोजेका डा जय सावलाको विषयले उनलाई रन्थन्यायो। नेपाली मिडियाले नेपाली रेजिडेन्ट डाक्टरहरुको भोगाइबारे लेख्नुपर्ने उल्लेख गरे।
डा लामाले उल्लेख गरेपछि रेसिडेन्सीको पेलाइबाट पराजित भएर परलोक भइसकेका डा जयका विषयमा इन्टरनेटमै जानकारी लिने कोशिस गरें। डा जय आम चिकित्सक थिएनन्। उनी सामाजिक विसंगतिविरुद्ध सामाजिक सञ्जालमा बोलिरहन्थे। चेसका अन्तराष्ट्रिय खेलाडी थिए र मार्सल आर्टमा ब्ल्याक बेल्ट थिए।
रेसिडेन्सीका क्रममा सिनयर चिकित्सकबाट हुने पेलाइ, हेपाइ र धम्कीबाट प्रताडित भएका थिए उनी। उनले यस विषयमा सार्वजनिक रुपमा सवाल उठाएका थिए। पुस्तान्तरण भइरहेको यसप्रकारको गलत प्रथाको चेन कसै न कसैले तोड्नैपर्ने मत उनले सामाजिक सञ्जालमा समेत राखेको देखिन्छ। तर, उनले त्यो चेन तोड्न सकेनन् र आफैं चेनबाट अलग भएर गए।
डा जयको विषय दिमागबाट धेरै पर पुगिसकेको थिएन। बिहिबार अबेर डा विशद दाहालको उद्वेलित पोष्ट देखें। एमबीबीएस दोस्रो वर्षदेखि नै चिन्छु उनलाई। चिकित्सा शिक्षाको सुधारका लागि हुने हर आन्दोलनमा उनलाई देख्थें। हरेक बहशमा एउटा आवाज डा दाहालको हुन्थ्यो।
उनी आफैं लेख्न पनि थाले। प्रस्ट विचार र काव्यात्मक भाषाशैली भएका उनका लेख विभिन्न सञ्चारमाध्यममा छापिएका छन्। केही म कार्यरत स्वास्थ्यखबरमा पनि छापिए। स्कालपेलको मात्रै होइन, कलमको धारलाई पनि कायम राख्न मैले पटक-पटक सुझाएको थिएँ।
एमबीबीएस पास गरेर कर्णालीतिर काम गर्दासम्म उनले लेखे। तर, रेसिडेन्सी सुरु भएपछि उनको लेख देखिएन। त्यसपछि एकैपल्ट देखियो- 'मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाई थाहा भएन तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिनँ भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो। तसर्थ म बोलेँ र बोलिरहन्छु।'
उनले यति लेख्नुअघि नै काठमाडौं मेडिकल कलेजले 'जो जससँग सम्बन्धित छ' भन्दै डा दाहाललाई एक महिना निलम्बन गरिएको पत्र सार्वजनिक गरेको रहेछ। विवादित विगत रहेकाले चलाइरहेको उक्त मेडिकल कलेजका विषयमा अनेक गुनासो आइरहन्छन्। अनेक स्टन्ट भइरहन्छन्।
केही दिनअघि मात्रै 'आम सदासयता' बटुल्न महावीर पुनलाई प्रयोग गरिएको थियो। उक्त मेडिकल कलेजलाई भलिभाँती थाहा छ - एमबीबीएस भर्ना मेरिट लिस्ट भन्दा बाहिर गर्न मिल्दैन। आमजनको प्रिय पात्र पुनकी छोरीले एमबीबीएसको प्रवेश परीक्षा त पास गरिन् तर पढ्न पाउनेगरी अग्रपंतिमा नाम निस्किएन। उक्त मेडिकल कलेजका सञ्चालकले त्यसलाई 'स्टन्ट' बनाए। चिकित्सा शिक्षा आयोगलाई कानुनविपरित भर्ना गर्न पाउँ भन्दा पत्र लेखे।
सञ्चालकको तजबिजमा चल्न परिपाटीको अन्त्य गर्नकै लागि त्यत्रो आन्दोलन भएको थियो। आन्दोलनकै जगमा बनेको थियो, चिकित्सा शिक्षा ऐन। त्यही ऐनले पैसाको बिटोको आधारमा होइन, दिमागको तेजका आधारमा चिकित्सा शिक्षा पढ्न पाइने थिति बसालेको हो। त्यो आन्दोलन अग्रभागमा विशदहरु थिए।
चिकित्सा शिक्षा र सेवालाई पैसाको मुहान बनाउन केन्द्रीत यस्ता मेडिकल कलेजहरुका आँखामा विशदहरु भिलेन हुन्। मनलाग्दी शुल्क उठाएर कुस्त कमाउने परिपाटीको अन्त्य भएर तय गरिएको शुल्कमा पढाउनुपर्ने व्यवस्था उनीहरु स्वीकार्न अझै तयार नभएको आयोगलाई पठाइएको त्यो पत्रले दर्शाउँछ। त्यस्तो बेला आँखाअघि देखिन्छन्- आन्दोलनको अग्रभागमा उभिएर आएका विशदहरु, मेडिकल माफियाहरुलाई चल्दैन त झोंक?
जहाँ सक्यो, त्यहाँ खेल्ने, जसलाई सकिन्छ, त्यसलाई पेल्ने निजी मेडिकल कलेजहरुको मानसिकता छ। रेसिडेन्ट चिकित्सक उनीहरुका लागि आम्दानीका स्रोत हुन्। उल्टो पैसा तिरेर बिरामीको उपचार गर्दै कमाइदिने यिनीहरुलाई जति सकिन्छ, त्यति पेल्न खोज्ने परम्पराको निरन्तरता छ।
काठमाडौं मेडिकल कलेज (केएमसी) त्यसभन्दा फरक हुने कुरा भएन। दिवंगत भारतीय युवा डाक्टर जय सावलाले भनेजस्तै यो अन्यायको चेन तोड्न जरुरी छ। चिकित्सामार्फत् सेवा गर्ने तर अन्याय नसहने जीवनमन्त्र बोकेका डा विशदहरुलाई पनि वर्षौंदेखि जारी अन्याय तोड्नुपर्छ भन्ने लाग्ने नै भयो।
उनले मात्रै होइन, स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै सवै रेसिडेन्ट डाक्टरले त्यसको विरोध गर्दै आइरहेका थिए। पाठ्यक्रममा समावेश नभएका क्रियाकलापहरुमा खटाउँदा पठपाठनमा हानी भइरहेको उनीहरुलाई महशुस भयो। क्याम्पमा खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरे। कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिए।
शिविरका क्रममा कलेज प्रशासन एक छाक मात्र खान दिने, रातभर यात्रा गराए बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एकजना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोक्ने काम उक्त कलेजले गरेको कुरा विद्यार्थीले उठाउँदै आएका थिए। आम विद्यार्थीको त्यो आवाजमा डा विशदले पनि आवाज मिसाउनुपर्थ्यो। मिसाए। डा विशदहरुलाई ठेगान लगाउने निहुँ खोजेर बसेको कलेजलाई सही बहाना मिल्यो र गरिदियो निलम्बन।
निलम्बन गर्ने पत्रको पुछारमा एउटा नाम छ- प्रा डा रतीन्द्रनाथ श्रेष्ठ। चिकित्सा शिक्षा सुधारको अभियानको विपक्षमा देखिएको नाम हो उनी। २०७० सालमा त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशक बनाइँदा अस्पतालका १७ विभागका प्रमुखहरूले अस्वीकार गरेका थिए। उनीहरुले त्रिवि उपकुलपतिलाई हस्ताक्षरसहितको पत्र लेखेर अस्पतालमा उपनिर्देशक हुँदाहुँदै निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठको नियुक्ति नियमसंगत नभएको बताएका थिए। विद्यार्थीहरुको आन्दोलन र डा गोविन्द केसीको असनका कारण डा रतिन्द्र श्रेष्ठ वर्खास्तिमा परेका थिए। डा केसीसँगको पुरानो रिस उनका चेला डा विशदमाथि खन्याएको विषयमा समेत चिकित्सा क्षेत्रमा चर्चा हुन थालेको छ।
कमाउने र कमाएकोबाट राजश्व छली गर्न खोज्ने मेडिकल कलेजका लागि 'नि:शुल्क (संसारमा नि:शुल्क केही पाइँदैन) स्वास्थ्य शिविर' गतिलो माध्यम रहेको कुरा कसैबाट छिपेको छैन। डा दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, 'हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढङ्गले रेजिडेन्ट चिकित्सकलाई गुन्डागर्दी शैलिमा खटाउँदै आइरहेको छ। बाहिर देखाउँदा जनसेवा भनेतापनी क्याम्पको भित्री मनशाय राजनैतिक प्रचारप्रसार र कर छलीसम्म रहेको अधिकांशको बुझाइ छ।'
रेसिडेन्सीका नाममा हुने शोषणले विश्वमा प्रति एक लाखमा १२.६ जनाले आत्महत्या गर्ने एक अनुसन्धानले देखाएको छ। नेपालको छुट्टै अनुसन्धान हुने हो भने यो दर उच्च हुने निश्चित छ। त्यसैले डा विशदहरु बोल्नुपर्छ, डा विशदहरु लड्नुपर्छ। डा जयहरु जस्तै 'पराजय'को छुट विशदहरुलाई छैन।