काठमाडौं– शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
प्रहरी र प्रदर्शनकारबीच झडप भएको ठाउँबाट १ जनालाई अचेत अवस्थामा भेटेर किस्ट अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।
अस्पताल स्रोतका अनुसार उनको शरीरमा गोली लागेको कुनै निशान र चोट छैन। छातीमा भने चोट लागेको जस्तो डाम देखिएको अस्पताल स्रोतले जनाएको छ।
बालकुमारीको प्रदर्शनस्थलबाट अचेत अवस्थामा १ जनालाई उद्धार गरेर ल्याइएको थियो। उपचारका लागि इमरजेन्सी वार्डमा पुर्याइको थियो। तर उनलाई बचाउन सकिएन,’ किस्ट अस्पतालका १ जना चिकित्सकले भने, ‘शरीरमा गोली लागेको छैन। छातीमा रातो डाम देखिएको छ।’
मृत्यु भएका व्यक्ति २३ वर्षीय युवक भएको बताइएको छ। उनको नाम र वास्तविक ठेगाना भने यकिन हुन सकेको छैन।