काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्कीले काठमाडौं मेडिकल कलेजका आवासीय चिकित्सक डा विशद दाहालको समस्या समाधानका लागि संघले काम सुरु गरिसकेको जानकारी दिएका छन्।
कलेजले हेल्थ क्याम्पका नाममा गरेको अमानवीय व्यवहारको विरोध गर्दा निलम्बनमा परेका डा विशद दाहालले आफूमाथि अन्याए भएको भन्दै न्याएका लागि लड्न सहयोग गर्नुपर्ने माग राख्दै शुक्रबार चिकित्सक संघमा निवेदन दिएका छन्। निवदेन बुझ्ने क्रममा अध्यक्ष डा कार्कीले आफूले यस विषयमा निवेदन आउनुअघि नै चासो दिएर समाधानका लागि काम अगाडि बढाइसकेको जानकारी दिए।
'यो विषयमा समाचार र सामाजिक सञ्जालमा कुराहरु आइसकेपछि केएमसी र केयूका सम्बन्धित पदाधिकारीसँग कुराकानी गरिसकेको छु', उनले भने, 'उहाँहरुले समस्या समाधानका लागि पहल भइरहेको प्रतिक्रिया दिनुभएको छ। छिटोभन्दा छिटो समस्या समाधान नभएमा संघले आवश्यक कदम चाल्ने छ।'
उनले आवासीय चिकित्सकहरुको विषयमा आइरहेका समस्याहरुको समाधानका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झासँग पनि छलफल भएको जानकारी दिए।
कलेजले बिहीबार एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको थियो। डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए।
उनीहरुले पाठ्यक्रममा समावेश नभएका क्रियाकलापहरुमा पनि अस्पतालको अनुरोधमा पटक पटक क्याम्प र पोस्टिङमा खटाउँदा पठन पाठनमा समस्या भइरहेको साथै क्याम्पमा खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरेका थिए। उनीहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए।