तम्घास (गल्मी)- गुल्मी अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलाइसिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो।
जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलाइसिस गरेको हो। गुल्मीमै डायलाइसिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ।
डायलाइसिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन्। त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ। डायलाइसिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ। एक बिरामीले हप्तामा दुईपटक डायलाइसिस गराउनुपर्छ। एकपटकमा झण्डै पाँच घण्टा लाग्छ।
अस्पतालमा हप्तामा नौ जनालाई डायलाइसिसको सेवा प्रदान गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए। डायलाइसिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभाम्वित हुने अर्यालको भनाइ छ।
नेपाल सरकारले एकपटक डायलाइसिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ। गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलाइसिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन। खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलाइसिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने अर्यालको भनाइ छ।
सो अस्पतालमा डायलाइसिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलाइसिस गराउन सुरु गरेका थिए।तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन्। पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निःशुल्करुपमा गरेको छ। रासस