उदयपुर- स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्य कटारी अस्पताल उत्कृष्ट बनेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पताललाई १ सय अंकमा ८३ नम्बर पाएको छ।
प्रदेश स्वास्थ निर्देशनालयले ६ /६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो।
३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८३ स्कोर सहित प्रथम, दोश्रोमा बर्दिबास अस्पतालले ८० नम्बर पाएको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर सिर्जत दाहालले बताजानकारी दिए।
६ महिना पहिले नेपाल सरकार स्वास्थ क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखाजोखा गर्दा ८० अंक पाएको कटारी अस्पतालले अहिले भने ८३ अंक पाएको छ। नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसंगै विभिन्न सूचकहरुको माध्यमबाट गरिएको मापनमा मूल्याकंन गर्दा कटारी अस्पतालले ८३ नम्बर पाएको हो।
विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालको न्यूनतम सेवा मापन गर्न स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर सिर्जत दाहाल, एनएसआईका सिनियर प्रोग्राम कोर्अडिनेटर गीता पोखरेल, एनएसआईका प्रोग्राम कोअर्डिनेटर आस्था शाही र सुनसरी अस्पताल सुनसरीका प्रमुख डाक्टर श्रेया पंगेनीको अनुगमनको टोली अस्पताल आइपुगेका थिए। न्यूनतम मापदण्ड अनुसार अनुगमन गर्दा कटारी अस्पतालले ८३ नम्बर प्राप्त गरेको कटारी अस्पतालका व्यवस्थापन समिति अध्यक्ष तथा कटारी ४ का वडा अध्यक्ष भूपेन्द्रसिंह तामाङले बताए।
यो मापन त न्यूनतम सेवामा भएकोले थप सेवा दिन अनुगमन श्रोत व्यक्ति सुनसरी अस्पताल सुनसरीका प्रमुख डाक्टर श्रेया पंगेनीले सुझाव दिएकी थिइन्। अस्पतालले अझै सुधार गर्नु पर्ने धेरै कामहरू बाँकी नै रहेकाले आउँदा दिनमा ध्यान दिन अस्पताल टीमलाई पंगेनीले आग्रह गरिन्।
शनिबार एक कार्यक्रम बिच अस्पतालका मेडिकल सुपरीटेण्डेट डा गौरव साहले अस्पतालमा भएका सुधार, समस्या र चुनौतीका बिषयमा प्रष्ट पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे।