काठमाडौं- गण्डकीमा हब तथा स्याटेलाइट अस्पतालबीच समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशभित्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र धौलागिरी अस्पताल गरी तीनवटा हब अस्पतालहरू र अन्य सरकारी तथा निजि अस्पतालहरू स्याटेलाइट अस्पतालका रूपमा रहेका छन्।
हब तथ स्याटेलाइट अस्पतालहरूबीच महामारी व्यवस्थापन गर्ने सिलसिलामा के कसरी अस्पताल-अस्पतालबीच आपसी समन्वय-सहकार्य गर्ने, सम्पर्क तथा प्रेषण प्रणाली कसरी मजबुत पार्ने, कसरी सूचना सम्प्रेषण गर्ने, अस्पतालले आफ्नो पूर्व तयारी के कसरी गर्ने, अस्पतालको सुरक्षा सूचांक अनुसार कसरी मूल्यांकन गर्ने,कुन कुन पक्षमा योजना तयार गरी प्रतिक्रिया तथा तत्परताका लागि सधैं तयारी अवस्थामा रहने लगायतका विषयमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशको आयोजनामा पुस १२ गते सैनिक अस्पतालपोखरामा र पुस १३ गते जीपीकोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त अवसरमा मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार केसी, सैनिक अस्पतालका कमान्डेण्ट डा अजय राजभण्डारी, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँका कार्यकारी निर्देशक डा राम कुमार श्रेष्ठ, सोही अस्पतालका महामारी फोकल पर्सन डा दिनेश शर्मा, धौलागिरी अस्पताल बागलुङका महामारी फोकल पर्सन तथा कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट डा अमित ढुंगाना, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक डा मधुरजी ढकाल, सहसंयोजक बुद्धिसागर अधिकारी र विश्वस्वास्थ्य संगठन नेपालका डा सुजन अधिकारीले महामारी व्यवस्थापनमा अस्पतालको पूर्व तयारी, सिकाइ तथा अनुभव आदान(प्रदान लगायतको विषयमा प्रस्तुतीकरण गरेका थिए।
अस्पतालका प्रमुख लगायत विभिन्न विभाग तथा शाखा प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रमबाट सहभागितामूलक छलफल मार्फत आगामी योजनाको खाका तयार गरिएको छ।