काठमाडौं- कोशी अस्पताल विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलको प्रमुख आतिथ्यतामा उक्त सेवा बिस्तार कार्यक्रमको समुद्घाटन भएको हो। सो सेवा बिस्तार बारे बोल्दै डर उन्नत श्रेष्ठले एएचएफले अन्य भिन्न काम गर्ने नभइ अस्पतालमा भइरहेको सेवालाई बिस्तार र व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताउँदै एचआइभी संक्रमित सबैले सेवामा पहुँच प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ यो कार्यक्रम कोशी अस्पताल बिराटनगरमा सुरु गरिएको बताए।
अस्पतालमा सेवा लिन आउने बिरामीहरुको सामान्य शल्यक्रियाका केसहरु समेत रिफर हुने परिपाटीलाई अन्त्य गर्न यो सेवा बिस्तारले महत्वपूर्ण योगदान दिने उनले बताए। साथै स्थानीय, प्रदेश र केन्द्रिय सरकारबीच रहेर पुलको काम समेत एएचएफ नेपालले गर्ने बताए। त्यस्तै एएचएफ कन्ट्री म्यानेजर दिब्यराज जोशीले कोशी प्रदेशमा एएचएफको पहिलो सेवा रहेको र बढी भन्दा बढी संक्रमितलाई कसरी सुरक्षित सेवा दिन सकिन्छ भन्नेमा आफूहरुको ध्यान केन्द्रित हुने बताए।
त्यस्तै संक्रमितको पक्षमा काम गर्ने सस्था एनएपी प्लस एनका अध्यक्ष खगेन्द्र खडकाले एएचएफ कोशी प्रदेशमा पनि रहनुपर्छ भनेर आफूहरुले धेरै समयदेखि माग गरिरहेकोमा सो सेवा बिस्तार कोशी अस्पतालमा भएकोमा अब सेवाग्राहीले उपचारका लागि अन्यत्र जानूपर्ने बाध्यताको अन्त्य हुनेमा आफू बिश्वस्त रहेको बताए। कार्यक्रममा आफ्ना भनाइ राख्दै स्वास्थ सचिव डा पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एचआइभी संक्रमितलाई उपचार गर्दा आफूलाई रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेका कारण यो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिदै सो विषयमा बिचार पुर्याउन कोशी अस्पतालका मेसुलाई निर्देशनसमेत दिए।
साथै प्रदेशमा ठुलो अस्पतालका रुपमा रहेको कोशीले यस्ता सेवाहरु सुरु गर्दा राम्रो सन्देश जाने र यसका लागि स्वास्थ मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए। त्यस्तै रास्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा संजय कुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन जिरो-जिरो-जिरोको अवधारणामा जानूपर्नेमा जोड दिदै बजेट समेत विकेन्द्रीकरण गर्ने र सबै सेवा स्थानीय तह र प्रदेशबाटै हुने वातावरण मिलाउन आफूहरु लागि परेको बताए।
साथै कोशी अस्पतालका मेसु डा चन्द्रभाल झाले सेवालाई अझ प्रभावकारी बनाउन अस्पतालबाट दिनुपर्ने सेवालाई थप प्रभावकारी बनाइ कार्यगर्ने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रम समुद्घाटन पश्चात् स्वास्थ सचिव पोखरेलले एआरटी सेन्टरको अवलोकन गर्दै अझ व्यवस्थित गरेर कार्य संचालन गर्न निर्देशन दिदै रिपोर्टको सवालमा स्थानीय र प्रदेशदेखि केन्द्रसम्म सहि रिपोर्ट पठाउन निर्देशन दिए। समुद्घाटन कार्यक्रममा अस्पतालका कर्मचारी जागृती खड्काले एचआइभी संक्रमणको अवस्था, बिरामीको संख्या र सेवा लिन आउनेको अवस्था आदिका बारेमा जानकारी गराएका थिए भने विभिन्न सरोकारवाला निकाय, संघसस्था अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।