काठमाडौं- आँखा अस्पताल निर्माणका लागि एक दम्पत्तीले २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका छन्।
म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई बेनीमा आँखा अस्पतालको भवन बनाउन ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन्।
बेनी नगरपालिका–८ कालीपुलमा रहेको बजारमूल्य दुई करोड ५० लाख रुपैयाँ पर्ने जग्गाको धनीपुर्जा रोका दम्पत्तीले शुक्रबार नेपाल नेत्र ज्योती संघ म्याग्दीका सभापति अमर बानियाँलाई हस्तान्तरण गरेका हुन्। संघका सभापति बानिया र जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जग्गा उपलब्ध गराउने रोकाको दम्पतिलाई फूलमाला र खादाले सम्मान गरेका थिए।
८० वर्षीय रोकाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जनतालाई लक्षित गरेर बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउँदा आफूले विगतमा देखेको सपना पूरा हुने विश्वास गरे।