काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको विषय संसदीय समितिमा उठेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री बस्नेतले अस्पतालका सामान खरिदमा भ्रष्टाचार गरेको विषय उठेको हो।
नेकपा एमालेका सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री बस्नेत र श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदे उक्त विषय समितिमा उठाएका हुन्।
सांसद पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरिरहेको आरोप समेत लगाएका छन्।
खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए। अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।
'भ्रष्टाचारीलाई क्याबिनेटमा राख्ने। प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने। व्यवहारमा उल्टो देखिरहेको छ। तपाईंहरुको भाषण कसले पत्याउँने। अस्पतालको समान खरिदमा अनियमितता गरिएको छ। अख्तियारले फाइल तानेर लैजाँदासमेत पदमा बसिरहुनु आपत्तिजनक छ,' पन्तले भने।
यसैगरी, पन्तले श्रम तथा रोजगार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएको आरोप समेत लगाएका छन्।