काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।
केएमसीका आवासीय चिकित्सकहरुले सोमबार आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झालाई पत्र बुझाउँदै कलेजले क्याम्पका नाममा अन्याय गरिरहेको जानकारी दिएका थिए। विद्यार्थीहरुले तत्काले डा दाहालको निलम्बन फुकुवा हुनुपर्ने र पाठ्यक्रमभन्दा बाहेकका अतिरिक्त गतिविधिहरुमा आवासीय चिकित्सकलाई प्रयोग गर्न नपाइने दुई बुँदे मागका बारेमा जानकारी दिएका थिए।
विद्यार्थीहरुको माग पत्र बुझ्दै आयोगका उपाध्यक्ष प्राडा झाले समस्या समाधानका लागि आयोग सकारात्मक रहेको र आवश्यक कदम चाल्ने जानकारी दिए। उनले तत्कालै डा दाहालमाथिको निलम्बनको विषयमा काठमाडौं विश्वविद्यालयसँग छलफल गर्ने र पाठ्यक्रम बाहेकका अतिरिक्त गतिविधिका विषयमा एउटा कमिटी बनाएर निर्देशिका बनाउन आयोग सकारात्मक रहेको प्रतिक्रिय दिएका छन्।
'पहिला त विद्यार्थीमाथि लगाइएको निलम्बनको विषय तत्कालै समाधान गर्नुपर्ने देखिएको छ,' उनले भने, 'त्यसपछि निर्देशिका बनाएर व्यवस्थित गर्ने कुरा अगाडि बढ्छ। निलम्बनका विषयमा केयूसँग औपचारिक जानकारी लिएर समस्या समाधान तर्फ जाने छौं।'
डा दाहालसहित केएमसीका आवासीय चिकित्सकहरुले हेल्थ क्याम्पका नाममा कलेजले अमानवीय व्यवहार गरेको भन्दै विरोध गरेका थिए। उनीहरुले कलेजमा पत्र समेत पठाएका थिए। उक्त कार्यको अगुवाइ डा दाहालले गरेको भन्दै कलेजले डा दाहाललाई एक महिनाका लागि निलम्बन गरेको हो।
निलम्बन फिर्ताको माग गर्दै देशभरका आवासीय चिकित्सकहरुले विरोध जनाएका छन्। नेपाल चिकित्सक संघले पनि निलम्बन फिर्ता हुनुपर्ने भन्दै समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।