काठमाडौं– सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमति भएको छ।
गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखामा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो।
मृतकका परिवारलाई परिवारका सदस्यहरुसँगको सल्लाहमा एक/एक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमति भएको छ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्रका बुवा टेकबादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालको उपस्थिति रहेको थियो। उक्त सहमति अछाम क्षेत्र नम्बर एकका सांसद शेरबहादुर कुँवर, दैलेख–२ का सांसद दिक्पाल कुमार शाही, दैलेक १ का अम्मरबहादुर थापा, अछाम २ का सांसद पुष्पबहादुर शाह र दीपा कुमारी शर्माको रोहवरमा गरिएको हो।