काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)ले आवासिय चिकित्सक डा विशद दाहालको निलम्बन स्थगन गरेपनि काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा दाहाललाई कलेजमा अझै प्रवेश गर्न दिएको छैन।
केयुका डीन डा मनोज हुँमागाईँले मंगलबार नै डा दाहालको निलम्बन स्थगनको पत्र केएमसी प्रशासनलाई पठाएपनि बुधबारसम्म पनि कलेज प्रशासनले डा दाहाललाई कलेजमा प्रवेश गर्न दिएको छैन। ‘म आज पनि कलेजको गेटमै छु, सुरक्षाकर्मी खटाएर मलाई कलेजमा प्रवेश गर्न नै दिइएको छैन।’
बिहीबार कलेज प्रशासनले एक विज्ञप्ती मार्फत डा दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो।
तर केयुले भने डा दाहालको निलम्बन स्थगन गर्दै ३ दिन भित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो। उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वय गर्नु पर्ने वा नपर्ने भन्ने निर्णय लिनु उपयुक्त हुने हुनाले डा विशद दाहालको निलम्बन हाललाई स्थगन गरिएको केयूले जनाएको छ।
साथै डा दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन लगाएतका विषयमा केयूले प्रश्न उठाएको छ।
फिल्ड वर्कका विषयमा आवाज उठाएपछि डा विशद दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो। गत बिहीबार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई एक महिनाको लागि निलम्बन गरेको थियो। केएमसी नेपाली कांग्रेसका सांसद सुनिल शर्माको कलेज हो।