काठमाडौं– नेपाल चिकित्कस संघले चिकित्सकको सरकारी सेवामा प्रवेश गर्ने उमेरका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
संघका पदाधिकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई भेटेर स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम ४५ वर्ष सम्म कायम हुनुपर्ने प्रावधान विपरित विभिन्न प्रदेश लोक सेवा आयोगबाट दरखास्त आह्वान गरिएको भन्दै प्रचलित स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन माग गरेका छन्।
हालै स्वास्थ्य सेवालाई समेत निजामति सेवामा समावेश गराउने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम अर्थात ४५ वर्ष सम्म कायम हुनुपर्ने प्रावधान रहेको संघले जनाएको छ।