काठमाडौं- करिब १४ वर्षदेखिको कामको मुल्यांकन प्रशासनले नगरेको भन्दै निजामती कर्मचारी अस्पतालका करार नर्सहरु आन्दोलित भएका छन्।
स्थायीका लागि परीक्षा लिइ त्यसमा सफल नभएकालाई ज्यालादारीमा काम गर्न अस्पताल प्रशासनले आदेश दिएका कारण उनीहरु आन्दोलित भएका हुन्। आन्दोलन संयोजक तथा नर्स जानुका रिजालका अनुसार विनियमावली अनुसार करार सेवामा लिइएका नर्सहरुलाई ४ वर्ष पुरा भएपछि स्थायीका लागि परीक्षा लिनुपर्ने प्रावधान रहेको थियो।
विनियमावली अनुसार काम नगरेको प्रशासनले ८ वर्षपछि परीक्षा लिएको थियो। कलेज प्रशासनले विनियमावली अनुसार काम नगर्दा हाल निजामती अस्पतालमा कार्यरत ३९ जना कर्मचारीहरु मारमा परेको नर्स रिजालको तर्क छ।
'हामीले यो संस्थालाई हाम्रो जीवनको एक दशक दियौं। हामीले सेवा प्रवेश गर्दाे भर्खर चल्न सुरु गरेको यस अस्पतालमा आज यो अवस्थामा आइपुग्नका लागि हाम्रो मेहनत र अहोरात्र खटाई महत्वपूर्ण रहेको छ' रिजाल भन्छिन्, 'जीवनको उर्जावान् समय निजामती अस्पतालमा बिताएका कतिपयले उमेर हदका कारण परीक्षा समेत दिन पाएनन्,तर परीक्षाको नतिजा प्रकाशन भएको २ महिना बितेपछि मात्रै अस्पतालले हामीलाई आगामी दिनमा ज्यालादारीमा मात्रै राख्न सकिने बतायो।'
अस्पताले गरेको उक्त व्यवहार न्यायोचित नभएको रिजाल बताउँछिन्।
'निजामती कर्मचारी अस्पताल प्रशासन मात्र नभई विकास समितीबाट चलेको अस्पताल हो, अस्पतालको सञ्चालन बोर्डको अध्यक्ष सरकारका मुख्यसचिव रहेका छन्। देश नै हाँक्ने स्तरका मुख्यसचिव बोर्ड अध्यक्ष भएको अस्पतालमा करार कर्मचारीमाथि भएको यो विभेद न्यायोचित होइन' उनले भनिन्, 'त्यसका विरुद्वमा हामीले ६ बुँदे मागसहित आन्दोलन गरिरहेका छौं। आन्दोलनको १३ औं दिन बित्दा समेत आन्दोलनबारे अस्पताल प्रशासनले खासै चासो दिएको छैन।'
'यद्यपि अस्पताल प्रशासनले विनिवाली संशोधन तथा ओएनएम सर्भे जस्ता कामहरु अगाडि बढाउँदा हाम्रा मागहरु सम्बोधन हुन्छन् की भन्ने सानो आशा भने छ' रिजालले भनिन्।
अस्पताल प्रशासनले आफ्ना माग पुरा नगरेसम्म निरन्तर आन्दोलन गर्ने उनी बताउँछिन्।