काठमाडौं- बर्दियाको ठाकुबाबा- २ (हाल वीरेन्द्रनगर सुर्खेत) निवासी ३३ महिने बालक अमृत आचार्यलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन्।
एक महिनाअघि सामान्य बिरामी भएका आचार्यलाई सुर्खेतका स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो। हाल उनको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकले उनलाई क्यान्सर भएको प्रमाणित गरेका छन्।
अस्पतालको सिफारिस्
अस्पतालले अमृतलाई ब्लड क्यान्सर भएको बताएपछि परिवारमा भने अर्को तनाव थपिएको छ। आर्थिक अवस्था कमजोर भएका आचार्य परिवारलाई छोराको उपचार कसरी गर्ने भन्ने पिर थपिएको छ।
'आफूसँग भएको २० हजार ल्याएर काठमाडौं आएकी थिएँ, त्यो पैसा पनि सकिसक्यो, अब त बिहान शाँझ कसरी खाने भन्ने समस्या भइसक्यो, छोराको उपचार कसरी गर्ने?' क्यान्सर पीडित ३३ महिने अमृतकी आमा थुमा आचार्यले भनिन्।
परिवारको आर्थिक अवस्था कमजोर रहेको र अस्पतालले उपचारमा ठूलो रकम लाग्ने बताएपछि आचार्य परिवारले सहयोगको अपिल गरेको छ।
आचार्यका दुई छोराको यसअघि नै निधन भएको थियो। पुत्र वियोगमा रहेका आचार्य दम्पतिका नाबालाक छोरालाई ब्लड क्यान्सर भएपछि थप पिडामा परेका छन्। क्यान्सर पीडित बालककी आमा थुमा आचार्यले छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन्।
उनी आफ्नो छोराको जीवन बचाइदिन बर्दिया भुरिगाउँमा रहेको राष्ट्रिय बाणिज्य बैंकको थुमा आचार्य नामको खाता नं 4470100000176010 मा रकम जग्मा गरिदिन आग्रह गर्दछिन्।
उनले त्यसरी प्राप्त सहयोगले आफ्नो छोराको जीवन बचाउन सहयोग पुग्ने बताइन्। उनलाई ९८६६७०७९४३ मा सम्पर्क गरेर समेत सहयोग गर्न सकिने छ।