काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउँदै रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीको कार्यकाल सकिएको जानकारी दिएको छ।
मन्त्रालयले पठाएको पत्रमा डा अधिकारीलाई २०७६ पुस ७ गते चार वर्यका लागि नियुक्त गरिएको र उनको समाप्त भइसकेको उल्लेख छ। मन्त्रालयले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई सम्बोधन गर्दै कार्यकाल सकिएको जानकारी गराउन भनेको छ।
'नेपाल मेडिकल काउन्सिल ऐन र नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७६/०९/०७ को स्वीकृत प्रस्ताव बमोजिम चार वर्ष पदावधि रहने गरी मनोनीत हुनु भएका तपशिल अनुसारको पदाधिकारीहरुको कार्यकाल समाप्त भएको र सोको जानकारी सदस्य र रजिष्टारलाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष मार्फत गराउने' मिति २०८०/०९/१८ को माननीय मन्त्रीस्तरको निर्णय अनुसार अनुरोध छ,' मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
चार वर्षअघि डा अधिकारीसँगै नियुक्त भएका केही सदस्यले यसअघि नै राजीनामा दिइसकेका छन् भने बाँकी रहेका सदस्यहरु पनि कार्यकाल सकिए लगत्तै काउन्सिलबाट बिदा भइसकेका छन्। तर डा अधिकारी भने रजिष्ट्रारका रुपमा काम गरिरहेका छन्।
कार्यकाल सकिँदा पनि डा अधिकारीले पद नछाडेपछि मन्त्रालयले पत्र पठाएको हो।