काठमाडौं- पटक-पटक गरी तलब भत्ता पाउने लगायतका पाँच बुँदे सहमति पश्चात् वीरका आन्दोलनरत्त कर्मचारीहरुले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन्।
कर्मचारीहरुका ९ ट्रेड युनियन तथा पदाधिकारीसहित हिजो बसेको बैठकमा सहमति भएपश्चात् आन्दोलनरत्त कर्मचारीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका छन्। सहमति अनुसार उनीहरुले पटक पटक गरी आगामी चैत्र मसान्तसम्म बाँकी रहेको भुक्तानी पाउने बताइएको छ।
तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै वीर अस्पतालको प्रशासन तथा लेखा शाखामा कर्मचारीहरुले विगत ४ दिनदेखि ताला लगाएका थिए। सहमति पश्चात् उक्त ताला तोडिएको छ।
वीर अस्पतालका उप-निर्देशक डा श्रवण कुमार थापाका अनुसार पटक पटक गरी चैत्र मसान्तसम्म सम्पुर्ण बाँकी भुक्तानी गर्ने सहमति पश्चात् आन्दोलन स्थगित भएको हो। पटक पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै अस्पतालका नौ कर्मचारी संगठनले ४ दिनसम्म अस्पताल प्रशासन तथा लेखा शाखामा ताला लगाएका थिए।
तत्कालका लागि २ महिनाको तलब भत्ता दिइने सहमति पनि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बजेट गत वर्षहरुको तुलनामा न्युन भएको तथा आन्तरिक आम्दानी अत्यावश्यक सामग्रीहरुको खरिदमा खर्च हुँदा धान्न नसकेकोले कर्मचारीहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्न नसकिएको अस्पताल प्रशासनले बताउँदै आएका थियो।