काठमाडौं– स्वास्थ्य मन्त्रालयको पत्राचारपछि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले आफ्नो जिम्मेवारीबाट बिदा लिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको पत्र काउन्सिमा पठाएपछि डा अधिकारी शुक्रबार काउन्सिलबाट बिदा भएका हुन्।
उनले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई पद छाडेको पत्र बुझाउदै काउन्सिलबाट बिदा भएका हुन्। मन्त्रालयले पठाएको पत्रमा मन्त्रिपरिषद्बाट नियुक्त भएका डा अधिकारी लगायत सबै सदस्यको पद चार वर्षका लागि भएको जनाएको छ। डा अधिकारीलाई पनि मन्त्रिपरिषद्ले २०७६ पुस ७ गते काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको थियो।
तर डा अधिकारीले भने आफू नियुक्त हुँदा चारवर्षको पदावधि हुने उल्लेख नभएको भन्दै कार्यकालको ४ वर्ष पुरा भएपनि पद छाडेका थिएनन्।
बिहीबार स्वास्थ्य मन्त्रालयबाटै पुस ७ गते नै रजिष्ट्रार डा अधिकारीको कार्यकाल सकिएको पत्राचार भएपछि भने उनले शुक्रबार काउन्सिल छाडेका हुन्।
‘मेरो नियुक्ति पत्रमा ४ वर्षको कार्यकाल हुने भनेर लेखिएको थिएन, मेरो पद सकिएको जानकारी कतैबाट नभइकन मैले किन छाड्नु भनेर म काउन्सिल आइरहेको थिए,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयबाट हिजो पत्र नै आएर मेरो कार्यकाल सकिएको भनेपछि आजदेखि मैले छोडेँ।’
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम