काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्वास्थ्यलाई राजनीतिक अजेन्डा बनाउन सुझाव दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्वास्थ्य विभागले गरेको 'हेल्थ पोलिसी राउन्डटेबल'मा स्वास्थ्य क्षेत्रका विज्ञहरुले यस्तो सुझाव दिएका हुन्।
देश संघीयतामा गएपनि स्वास्थ्य क्षेत्र भने त्यसको मान्यताअनुरुप चल्न नसकेको उल्लेख गर्दै यस्तो सुझाव प्राप्त भएको कार्यक्रमका मोडरेटर तथा उक्त विभागका सल्लाहकार डा सुवास प्याकुरेलले बताए। उनले भने, 'स्वास्थ्य क्षेत्रमा राजनीतिक प्राथमिकता र प्रतिवद्धताको अत्याधिक महत्व हुन्छ। यसलाई राजनीतिक अजेन्डा नबनाउने तर राजनीतिकरण भइरहने विषय महत्वका साथ उठेको छ।'
पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा, डा किरण रेग्मी, डा तिर्थराज बुर्लाकोटी, डा. सुशीलनाथ प्याकुरेल, जनस्वास्थ्यबिद डा सुशील बराल र पत्रकार डिबी खड्काले यस विषयमा जोड दिएको डा प्याकुरेलले जानकारी दिए।
पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेकी रास्वपा सांसद डा तोसिमा कार्की पार्टीको स्वास्थ्य विभाग प्रमुख छन्। डा कार्कीकै संयोजकत्वमा स्वास्थ्य नीतिमा रहेको ग्याप, सेवामा गुणस्तर र स्वास्थ्य बीमामा रहेका कमजोरका विषयमा छलफल भएको हो।
उक्त कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद दिँदै डा कार्कीले महत्वपूर्ण सुझाव प्राप्त भएको बताइन्। ती सुझावलाई आफ्नो पार्टीले कार्यान्वयनमा जोड दिने बताइन्। उनले कार्यक्रमको अन्त्यमा भनिन्, 'आज हामीले स्वास्थ्य नीतिमा रहेका ग्याप, स्वास्थ्य बीमाका कमजोरी र स्वास्थ्य सेवाका गुणस्तरका विषयमा महत्वपूर्ण सुझाव पाएका छौं। यसलाई हामीले पुँजीका रुपमा ग्रहण गरेर अघि बढ्नेछौं।'
कार्यक्रममा कानुनबिज्ञ नारायण घिमिरे र डा रमेश पराजुली, क्लिनिकल क्षेत्रबाट डा पवनराज चालिसे, डा रुपक घिमिरे, अनुसन्धान क्षेत्रबाट डा अभिनभ बैद्य, डेन्टल तथा नर्सिङ एसोसिएसनबाट अध्यक्षहरु डा प्रणय शाक्य र मनकुमारी राई, अमेरिकाबाट नेपाल फर्किएका चिकित्सकहरु डा प्रभात अधिकारी, डा अनुप सुवेदी, डा किरण पान्डे, हेल्थकेयर म्यानेजर सृष्टि पन्त, स्वास्थ्य पत्रकारहरु सरोज ढुङ्गेल, डिबी खड्का, रामप्रसाद न्यौपाने, क्यान्सर केयरमा रहेका डा बिनोद अर्याल, अलाइड हेल्थ स्टुडेन्ट डेनिशा सिंहलगायतले आफ्नो सुझाव दिएको बताइएको छ। बिभागका तर्फबाट उपाध्यक्ष डा पुष्पमणि खराल, सचिब डा विश्व ठाकुर, सदस्य डा श्यामिन्द्र सिंह रहेका थिए।