काठमाडौं– काठमाडौं विश्व विद्यालय (केयू)ले आफ्नो मातहतका कलेजलाई कुनै पनि आवासीय चिकित्सकलाई पोस्टिङमा नपठाउन निर्देशन दिएको छ। केयूले फिल्ड पोस्टिङसम्बन्धी निर्देशिका नबनेसम्मका लागि कुनै पनि विद्यार्थीलाई फिल्ड पोस्टिङ वा स्वास्थ्य शिविरमा नपठाउन निर्देशन दिएको हो।
केयूले एमडी, एमएस र एमडीएसका आवासीय चिकित्सकलाई निर्देशिका नबन्दासम्म क्याम्प वा स्वास्थ्य शिविरमा खटिन बाध्य नपार्न समेत आग्रह गरेको छ।
काठमाडौं मेडिकल कलेजले आवासीय चिकित्सकहरुलाई आवश्यकता भन्दा बढी स्वास्थ्य शिविर र क्याम्प खटाएको विवाद सतहमा आएपछि केयूले फिल्ड पोस्टिङ तथा हेल्थ क्याम्प निर्देशिका बनाउन लागेको हो।
केयूले शुक्रबार एमडी, एमएस तथा एमडिएस तहको फिल्ड पोस्टिङ तथा हेल्थ क्याम्पसम्बन्ीध कार्यविधि बनाउन केयूका एशोसिएट डीन डा दीपक कुँवरको संयोजकत्वमा समिति गठन गरेको थियो।
सो समितिमा स्कूल अफ मेडिकल साइन्सेजका प्राडा जगदीश चटौत र निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधि सदस्य छन्। उक्त समितिलाई केयूले १५ दिनभित्र कार्यविधिको मस्यौदा पेश गर्न भनेको छ।