काठमाडौं- काठमाडौँको मीनभवनमा रहेको सुस्वास्थ हस्पिटलले स्थापनाको आठ वर्ष पूरा गरेको छ। नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित अस्पताल सोमबारदेखि ९ वर्षमा प्रवेश गरेको हो।
औषधिविहीन उपचार पद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि अस्पतालले सेवा सुरु गरेको थियो।
अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ। अस्पतालले वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको छ। यसका साथै अस्पतालले नि:शुल्क शिविर मार्फत वर्षमा झण्ड एक हजार जनालाई थप सेवा दिँदै आएको छ।
अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिए।
अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको बस्नेत बताउँछन्। त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको उनले जानकारी दिए।
'सञ्चारमाध्यम, कलेज, स्कुल, बैंक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो। यसबाट २ सयभन्दा बढी कर्मचारी लाभान्वित भएका छन्,' अध्यक्ष बस्नेतले भने।
हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जहाँ ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य जनचेतना अभियानअन्तर्गत कम्मर र गर्दनको हेरचाह गर्ने र आफैं व्यवस्थापन गर्ने तरिका सिकाउने कार्य पनि हालसम्म १० स्थानमार्फत १५ सय जनालाई गरिसकेको बस्नेतले जानकारी दिए।
सुस्वास्थ हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो। आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको छ। अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत रहेको बस्नेत बताउँछन्।