काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बाथ रोगसम्बन्धी व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताएकी छन्।
बद्री तीर्थ आर्थराइटिस समाज तथा नेशनल बाथरोग सेन्टरले संयुक्त रुपमा आयोजित जागरण अभियान कार्यक्रमको उद्घाटनमा बोल्दै उपयोग डंगोलले सुरुवाती समयमा नै बाथ रोगलाई पहिचान तथा निदान गर्ने कार्यमा काठमाडौं महानगरपालिका विभिन्न संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताएकी हुन्।
बाथ रोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरुमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उपमेयर डंगोलको भनाई थियो। कार्यक्रममा बोल्दै नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले संस्थाले गर्ने यस्ता जनचेतना मुलुक कार्यक्रमहरुले आगामी दिनमा बाथ रोग सम्बन्धि सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।
नेशनल बाथ रोग सेन्टरका अध्यक्ष डा बिनित बैद्यले बाथ एक प्रकारको दीर्घ रोग रोग भएको तथा यसको समयमा नै पहिचान गर्न सकेमा यसको न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले सेन्टरले माघ महिनाभरी उपत्यकाका विभिन्न स्थानहरुमा बाथ रोग सम्बन्धि सचेतना फैलाउने फोटो प्रदर्शनी गरिने बताए।
नशा रोग विशेषज्ञ डा दिपेश शाक्यका अनुसार बाथ शरीरको जुनसुकै अंगमा हुनसक्ने बताए। उनका अनुसार ५० प्रतिशत बाथ रोगीलाई नशाको समस्या हुने गर्छ । बाथलाई सुरुवाती अवस्थामा नै पहिचान तथा उपचार गर्न सकेको अवस्थामा नशासम्म बाथ रोग फैलिन नपाउने उनको धारणा थियो।
वरिष्ठ बाथ रोग विशेषज्ञ डा श्वेता नकर्मीले समयमै बाथको पहिचान गर्न यसका कारण हुने जटिलतालाई कम गर्न सक्ने सकिने बताइन्। बाथ रोगबाट हुने जटिलतालाई कम गर्न सचेतनामुलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
प्राध्यापक रामवृक्ष साहलाई नगदसहित सम्मान गरिनुका साथै विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो।