काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको बैठक असफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र प्रतिष्ठानका पदाधिकारीहरुबीच भएको बैठक असफल भएको हो।
स्वास्थ्य मन्त्रालयमा भएको बैठकमा प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्की, रेक्टर प्राडा सन्जीवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्य संग्रौला र अस्पताल डाइरेक्टर डा जगलनारायण प्रसाद थिए।
उनीहरुले स्वास्थ्य मन्त्री बस्नेतलाई प्रतिष्ठानको समस्याबारे सुनाएका थिए। त्यसपछि मन्त्री बस्नेतले पनि समस्या समाधानका सुझाब दिएपनि समस्या समाधानका लागि ठोस निष्कर्ष ननिस्केको मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिएश्र
बैठकबाट कुनै निष्कर्ष ननिस्किएपछि मन्त्री बस्नेतले अन्तिममा मुख्य सचिव बैकुण्ठ अर्याललाई भेटेर आफ्नो कुरा राख्न सुझाव दिएका थिए।
प्रतिष्ठानमा कर्मचारीको बढुवाको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ।
प्रतिष्ठानका कर्मचारी, विद्यार्थी देखि विभागिय प्रोफेसर तथा शिक्षकहरु आन्दोलनमा छ। जसका कारण प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ।
प्रतिष्ठानबाट स्वास्थ्य सेवा समेत प्रभावित भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कंराज राई (हर्क साम्पाङ) ले स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र समेत लेखेका थिए।
कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई उपस्थित गराइदिन भन्दै मेयर हर्क साम्पाङले स्वास्थ्य बस्नेतलाई पत्र लेखेका थिए।