काठमाडौं- धरानस्थित बीपी प्रतिष्ठानका उपकुलपति कार्यालयमा लागेको ताला खुलेको छ। उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न र नगराउन आदेश जारी गरेलगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुलेको हो।
उपकुलपतिको कार्यकक्षमा धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि शुक्रबार दिउँसो ताला खुलेको हो। अदालतको आदेशपछि नगरप्रमुख हर्क साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए।
रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित ९ विपक्षीको नाममा उच्चले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ।