काठमाडौं - वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत दुईजना विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ। आइतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार वीरगन्ज– १५ भिस्वाको जिल्ला आयुर्वेद अस्पतालनजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते दुवै जनाको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत रहेको थापाले जानकारी दिए।
थापाका अनुसार भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो। मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उनले जानकारी दिए।
'दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ,' थापाले भने।