काठमाडौं- नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले नेपाल चिकित्सक संघको परिचयपत्र समेत नक्कली बनाएको भन्दै संघले कारबाहीको माग गरेको छ।
संघले सोमबार विज्ञप्ति निकाल्दै नक्कली परिचयपत्र बनाएर परिचयपत्रको दुरुपयोग गर्दै सयौंको शंख्यामा उपचारमा संलग्न रहेको भन्दै कानुन अनुसार कारबाहीको माग गरेको हो।
'नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राऊ परेको र निज नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचयपत्र बनाएको प्रति यस संघको ध्यानाकर्षण भएको छ,' संघका महासचिव डा सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'चिकित्सक नभई नक्कली परिचयपत्र बनाएर परिचयपत्रको दुरुपयोग गर्दै सयौंको शंख्यामा उपचारमा संलग्न भएका निजलाई कानुन बमोजिमको कारवाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ।'