कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पतालमा अक्सिजन प्लान्ट पुन:सञ्चालनमा आएको छ। एक वर्षदेखि बिग्रिएको प्लान्टको मर्मत गर्दै सोमबारबाट पुन:सञ्चालनमा ल्याइएको हो।
नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीको पहलमा प्लान्टको मर्मत भएको हो। आइतबार मर्मतको काम सकिएसँगै सोमबारदेखि प्लान्ट सञ्चालनमा आएको नगरप्रमुख शाहीले जानकारी दिइन्।
उनले प्लान्ट सञ्चालनमा आएसँगै नेपालगन्ज तथा अन्यत्रबाट अक्सिजन खरिद गर्नु नपर्ने बताइन्। 'बिरामीहरुले सहज रुपमा सेवा पाउनु पर्छ भन्ने विषयमा म सँधै चनाखो नै छु,' उनले भनिन्, 'त्यही अनुसार अस्पतालमा सेवा सुविधा थप गर्दै लगेका छौं। अक्सिजन प्लान्टको सेवा पनि बन्द हुँदा बाहिरबाट ल्याउनु पर्ने थियो। तर अब यहीँ उत्पादन हुन्छ।'
नगरप्रमुख शाहीका अनुसार प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको उक्त प्लान्टबाट उत्पादित अक्सिजन आवश्यकता अनुसार अन्य अस्पताल र घरमा अक्सिजन चाहिने बिरामीकहाँ समेत न्यूनतम शुल्कमा लैजान सकिन्छ।
अस्पतालले कोभिड महामारीपछि ८० लाख लागतमा प्लान्ट स्थापना गरेको थियो।