मोरङ- कोशी प्रदेश सरकारले विराटनगर–१० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ।
प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिइन्। केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन्। सो केन्द्रमा आगामी छ महिनाभित्र आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका परीक्षणको सामग्री उपलब्ध हुने उनले बताइन्।
कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सोमबार यहाँ संयुक्तरुपमा केन्द्रको उद्घाटन गरे।
सो अवसरमा प्रदेशप्रमुख खापुङले केन्द्रको स्थापनाबाट विराटनगर स्वास्थ्य केन्द्रका रुपमा विकसित भएको बताए। उनले केन्द्रमा कोशी, मधेस प्रदेशका साथै सीमावर्ती भारतीय क्षेत्रका जनतालाई उपचारमा सहज हुनाका साथै यस क्षेत्रको आर्थिक चलायनमा सहयोग पुग्ने धारणा राखे।
मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सात लाख उच्चरक्तचापबाट पीडित जनतालाई बचाउन हृदय रोग केन्द्र स्थापना गरेको बताए। उनले प्रदेशमा दुई लाख मुटुको बिरामी रहेको चर्चा गर्दै उपचारमात्र होइन यो रोग कसरी लाग्छ भन्ने अनुसन्धानका लागि समेत बजेट छुट्याएको बताए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले मानवीय विकासका लागि चिकित्सक, इन्जिनियर, पशु र स्वास्थ्य विज्ञमा निःशुल्क अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए। उनले सरकार सुशासन कायम गर्न र नागरिकको जीवनस्तर उकास्नका लागि कोही कसैसँग कुनै सम्झौता नगर्ने प्रण व्यक्त गरे।
कांग्रेस नेता डा कोइरालाले सेवा प्रदान गर्ने संस्थामा राजनीतिक नगर्न सबैसँग आग्रह गरे। उनले मुलुकमा रहेका दक्ष जनशक्तिको विदेश पलायन रोक्न दलहरु गम्भीररुपमा लाग्नुपर्नेमा जोड दिँदै केन्द्रलाई तालिम केन्द्रका रुपमा समेत विकास गरेमा यसको उपादेयता मुलुकभर पुग्ने विश्वास व्यक्त गरे।
सङ्घीय पूर्वमन्त्री अमनलाल मोती, प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वमन्त्री तिलकुमार मेयाङ्वो, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेत र मुटुरोग वरिष्ठ चिकित्सक डा भगवान कोइराला र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्ष राजेन्द्र राउतले केन्द्रको स्थापनाबाट प्रदेशका जनताले स्तरीय सेवा पाउनु धारणा राखे। रासस