सरकारले शितलहरबारे सचेतना जगाउँदै आएको छ। भूकम्पपीडित क्षेत्रमा चिसोका कारण सुत्केरी र शिशुले ज्यान जोगाउन नसकेको हामीले भर्खरै सुनेका हौं। त्यस्तै यो वर्ष चिसो मौसम सुरु हुँदा हुनुपर्ने वर्षा नहुँदा सुख्खा प्रदूषित वायुमण्डल र सँगैको चिसोले असर गरिरहेको पनि सुन्दै आएका छौं।
चिसो मौसमको सुरुवात भएको छ र यो मौसम अनुसार तापक्रम घट्ने क्रम बढ्दो छ। यदाकदा तराईका जिल्लाहरुमा अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको खबर गत वर्षहरुझैँ आउन थालेका छन्। चिसो हुँदा गर्मी महिनामा हुने सुखद अनुभूतिको कल्पना गर्नु र गर्मीमा जाडोको आनन्द लिने इच्छा गर्नु मानवीय स्वभाव नै हो, जुन सहजै पूर्ति हुन सक्दैन।
सबै मौसममा आ-आफ्नो अप्ठ्यारोपन र असजिलोपन अनि कष्टकर अवयवहरु हुने गर्छन्। चिसोको कारण हुने सबै पक्षहरुमा सबैलाई पूर्ण ज्ञान नहुन सक्छ भने कतिपय अवस्थामा थाहा पाइरहँदा पनि सामान्य जस्तो लाग्ने कुराले अप्ठ्यारो र अप्रिय समस्या तथा घटना निम्त्याउन सक्छ।
यो मौसमको सुरुवातसँगै नवजात तथा बालबालिकहरुमा रुघा, खोकी, टन्सिल, छाला सुख्खा हुने खस्रो हुने फुट्ने तथा छाती संक्रमण, निमोनिया जस्ता समस्याहरु देखा पर्छन् भने वयस्क तथा वृद्धवृद्धाहरुमा पिनास, उच्च रक्तचाप, बाथ, दम तथा हाडजोर्नीका समस्याहरुले पिरोल्ने गर्छ। यस्ता चिसो मौसममा आइपर्ने समस्याहरुमध्ये शरीरको तापक्रमसँग सम्बन्ध राख्ने र चिसोको संसर्गबाट हुने 'हाइपोथर्मिया' पनि एक जटिल समस्या हो।
के हो हाइपोथर्मिया?
मानव शरीरको तापक्रम सामान्य रुपमा ९८ डिग्री फरेन्हाइट (३८ डिग्री सेल्सियस) हुने गर्दछ। जीव विज्ञानमा तातो रगत भएको वर्गमा पर्ने मानव शरीर तातो रहिरहने आफ्नै स्वचालित प्रक्रिया रहन्छ। शरीरका महत्वपूर्ण भित्री अंगहरु मुटु, कलेजो तथा मिर्गौलाले मस्तिष्कको निर्देशनमा आफ्नो दैनिक क्रियाकलाप सँगसँगै ताप पनि उत्पन्न गरिरहन्छ भने छाला तथा बाहिरी संरचनाले त्यसलाई कायम, नियन्त्रण र निरन्तरता प्रदान गर्ने र खर्च गर्ने या नास गर्ने गर्छ। हाम्रो शरीर भित्र उत्पादित ताप करिब ९० प्रतिशत छालाको माध्यमबाट चिसो हावा वा खुला वातावरणमा खर्च हुने गर्छ भने यदि हाम्रो शरीर वा छाला चिसो पानीसँग सिधै सम्पर्क हुन्छ भने ताप खर्च हुने क्रम हावामा भन्दा २५ गुणा बढी हुने गर्छ।
यसरी हेर्दा यो सन्तुलित रुपमा चल्ने प्रक्रियामा विचलन आएमा शरीरले ताप उत्पादन गर्ने क्षमताभन्दा खर्च गर्ने या नास हुने क्रम बढी हुन गई सन्तुलन बिग्रिएर शरीरको तापक्रममा अप्रत्यासित रुपमा गिरावट आई स्नायु प्रणाली, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा समस्या देखा पर्छ। यहाँ शरीरको तापक्रम ९५ डिग्री फरेन्हाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भई मुटु, फोक्सो तथा स्नायु प्रणालीले सामान्य तवरबाट काम गर्न सक्दैन भन्ने यस अवस्थालाई हाइपोथर्मिया भनिन्छ। हाम्रो समाजमा समस्या भोगेकाले थाहा नै पाएका हुँदैनन र हामीले सञ्चार माध्यमबाट थाहा पाएका कठ्याङ्ग्रिएर मृत्यु भएका समाचारहरु पनि प्रायः हाइपोथर्मियाकै उपज हुन्।
के हुन सक्छन् यसको कारण?
घरवारविहीन, पातलो कपडामा सवारी साइकल मोटरसाइकल जस्ता साधन चलाउनु, विशेष गरेर जाडो मौसममा धेरै समयसम्म पातलो कपडा प्रयोग गरेर बाहिरी वातावरणको सम्पर्कमा आउनु या रहनु यसको प्रमुख कारण हो। यस्तै लुगा धुँडा, भाडा माँझ्दा, खेतबारीमा काम गर्दा, नुहाउँदा चिसो मौसमको ख्याल नगरी चिसो पानीको लामो समयसम्म प्रयोग गर्नु। नवजात शिशु, बालबालिका र वृद्धवृद्धालाई चिसोमा हुने असरहरुको बारेमा तथा वातावरणीय पक्षहरुको बारेमा ख्याल नहुनु दोस्रो कारणमा पर्छन्।
यसरी नै हाइपोथर्मियाका अन्य कारणहरुमा गरिबी तथा अभाव, अज्ञानता या शिक्षाको कमी पनि पर्न आउँछ। कतिपय अवस्थामा विभिन्न रोगहरु जस्तै चिनी रोग, थाइरोइड (हाइपो र हाइपरथाइरोडिजम) कडा प्रकृतिका घाउहरु र नराम्रा बानीहरु जस्तै नार्कोटिक्स् समूहका औषधिहरुको दुरुपयोग गर्नु र जीउ तताउन अत्यधिक मद्यपान गर्नु पनि यसको कारण मानिन्छ।
कसरी थाहा पाउने हाइपोथर्मिया र के हुन्छ यसमा?
यसको सबैभन्दा पहिलो लक्षण भनेको व्यक्तिले जाडोप्रति प्रतिकार गर्नु हो। अथवा मानिसले आफूलाई चिसो भएको महसुस गर्दै खटपटी साथ न्यानोको खोजी गर्छ।
उसले एक हातले अर्को हातको हत्केला माडेर, दुवै हात बाँधेर, बाक्लो कपडाको खोजी गरेर, आगो तथा घामको खोजी गरेर चिसोको प्रतिकार गरेको देखिन्छ।
चिसो बढ्दै गएमा बयस्क तथा वृद्धहरुले हाड गोडा झमझम गरेको अनुभव गर्ने, रिंगटा लागेको तथा वाकवाक लागेको बताउने, भोक लागेको अनुभव गर्ने, चाँडो चाँडो श्वास फेर्ने, अंगहरु निदाएको अनुभव गर्ने तथा अंगहरुको समन्वय कम भएको महसुस गर्ने, मुटुको गति बढ्ने, चेतनाको स्तर कम हुने, दोधारपनका गफहरु गर्ने र विस्तारै बोल्न कठिन भएको अनुभव गर्छन्।
यही हाइपोथर्मियाको अवस्था नवजात शिशु तथा अशक्त बालबालिकाहरुमा भएमा यसले जटिलता पैदा गर्छ। किनकि, उनीहरु रुने शिवाय अरु प्रतिक्रियात्मक क्रियाकलाप देखाउन सक्दैनन् भने उनीहरुमा छाम्दा चिसो हुने, अनुहार तथा छाला कडा रातो देखिने, चिढिएर रुने, थकित र कमजोर देखिने, हातगोडा लुलो हुने जस्ता लक्षण तथा चिह्नहरु देखा पर्छ। यस्तो समस्या तथा अवस्था लामो समयसम्म रहेमा नवजात शिशु, बालक, व्यक्ति तथा वृद्धवृद्धाले आफ्नो चेतनाको स्तर गुमाउँदै जान्छन्, नाडीको गति कमजोर, मिल्न कठिनाइ, श्वासप्रश्वासमा कठिनाइ भएको चिह्नहरुमा देखा पर्छ। जसले नराम्रो अवस्थाको संकेत गर्छ या मृत्युसम्म पुर्याउँछ।
रोकथाम, बचावट तथा उपचार
हाइपोथर्मिया तुलनात्मक रुपमा चिसोका कारण हुने अरु समस्याभन्दा फरक र जीवनमरणसँग सम्बन्ध राख्ने चुनौतीपूर्ण र आकस्मिक समस्या हो जसले नसोचेको बेलामा दुर्घटना निम्त्याउन सक्छ। नवजात शिशु, बालबालिका या वृद्धवृद्धाको ज्यान समेत लिन सक्छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल या क्लिनिकमा पुर्याएर सेवा दिन सम्भव नभएमा र माथिका लक्षण तथा चिह्नहरु स्पष्ट देखा परेमा निम्न अनुसार सुरक्षात्मक, प्रतिकारात्मक र प्रवर्द्धनात्मक उपचार पद्धति या घरायसी सुरक्षा विधि अपनाउन सकिन्छ।
कुनै पनि चिसो या भिजेको कपडा टोपी, पञ्जा, मोजा भए तुरुन्त हटाइदिने या खोल्ने। अरु शरीरको तापक्रम नघटोस् भन्ने उद्देश्यले जति सक्दो चाँडो व्यक्तिलाई पानी, चिसो हावा वा हुस्सुबाट बचाउँदै सुख्खा कपडाहरु र बाक्लो सिरक या ब्ल्याङ्केटले ढाक्ने। उसलाई विस्तारै सुख्खा, सुरक्षित र सजिलो स्थानमा लैजाने।
सम्भव भएमा अतिरिक्त बाक्लो र न्यानो सिरक वा इलेक्ट्रिक ब्ल्याङ्केटको व्यवस्था गर्ने। हिटिङ प्याड, हट व्याग इत्यादिले पैताला, काखी, घाँटी जस्ता तत्काल शरीरको तापक्रम बढाउन सक्ने भागहरुमा सेक्ने या च्याप्ने।
बेहोसीको अवस्था बाहेकको अवस्थामा झोलिलो पर्दाथ जस्तै, तातोपानी, दालको रस, चना–सिमी–राज्मा जस्ता गेडागुडीबाट तयार पारिएका झोल प्रशस्त मात्रामा पिलाउन सकिएमा शरीरको तापक्रम बढी नास हुनबाट बचाउन सकिन्छ।
त्यस्तै मह, दूध, चाकु इत्यादिको सेवनले शरीरको तापक्रम बढाउन सहयोग गर्छ। चिसोमा तापक्रम बढाउन सहयोग गर्छ भनेर अल्कोहल र क्याफिनको प्रयोग भने हानिकारक हुन्छ। जसले तापक्रम बढाउनुभन्दा बढी खर्च हुन जान्छ।
नवजात शिशुहरुको हकमा भने उनीहरुलाई न्यानो कपडामा राख्ने, प्रशस्त मात्रामा आमाको दूध चुसाउने गर्नुपर्छ भने खेल्ने, कुद्ने उमेरका स्कुले बालबालिकाहरुलाई शरीरको तापक्रम घट्न नदिन पूरा बाउला लगाइदिने, स्वीटर, ज्याकेट तथा गर्धन ढाक्ने कपडाहरुको प्रयोग गरेर मात्र स्कुल पठाउने गर्नुपर्छ।
वृद्धवृद्धाहरुले हाइपोथर्मियाको खतराबाट बच्न चिसो याममा राति नै उठेर चिसोपानीले नुहाउने र बाक्लो कपडा नलगाई धेरै बेर नाङ्गो शरीर पूजापाठमा नबस्नु उचित हुन्छ। त्यस्तै, गृहिणी तथा महिलाको हकमा धेरैबेर समयसम्म चिसोमा लुगा धुने, भाँडा माझ्ने या लामो समयसम्म चिसोपानीको प्रयाग नगरी सकेसम्म चिसोबाट बच्ने उपाय अपनाउनु बेश हुन्छ।
विशेषगरी बिहानीको समयमा चिसो मौसममा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा चिसोबाट बच्ने उपायहरु अपनाउनु, बजारमा पाइने छालामा छुने कपडाहरु प्रयोग गर्ने, घरमा बस्दा या राति सुत्दा चिसोबाट बच्ने उपायहरु अबलम्वन गर्नु हाइपोथर्मियाबाट बच्ने तथा रोकथाम गर्ने उचित उपाय हुन आउँछन्। तर चिसोबाट बच्ने निहुँमा झ्याल–ढोका बन्द गरी सुत्दा भने रगतमा अक्सिजनको आपूर्तिमा कमी भई निस्सासिएर ज्यान समेत जाने हुँदा वेल-भेन्टिलेटेड वातावरण बनाउने कुरामा चाहिँ सर्तक हुनुपर्छ।