सुर्तीजन्य पदार्थको प्रयोगका कारण बढ्दै गरेको मृत्युको संख्यालाई घटाउनका लागि यसको बिक्री वितरण न्यून गराउन सक्ने नियम कानुन ल्याउन अत्यावश्यक छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोग बढ्दै जाँदा उपचारमा सरकारको लगानी पनि बढ्छ। यसले प्रत्यक्ष रुपमा नै स्वास्थ्यमा हुने खर्च बढ्दो छ। सुर्तीजन्य पदार्थको बढी बिक्री वितरणले उद्योगीहरु नाफामा र सरकार झनै नै घाटामा जाने स्थिति हुन्छ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि गरिने हरेक क्रियाकलापले नाफामा कटौती आउन सक्ने डर यस्ता पदार्थहरुको उत्पादकहरुमा बढ्दो छ। सुर्तीजन्य पदार्थको प्रयोगकर्ता घट्ने तथा नाफा गुमाउने डर उनीहरुमा भएकोले नै यसको नियन्त्रण तथा नियमनका लागि नीति बनाउने समयमा उद्योगीहरुले विभिन्न बहानामा अवरोध सृजना गर्छन्।
सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि कानुन बनाउने हो। यद्यपी व्यावसायिक नाफालाई मात्रै केन्द्रमा राखेर उद्योगीहरुले नियम कानुन बनाउने समयमा विभिन्न गतिविधिहरु बढाउने गर्छन्।
सरकारले जनतालाई प्राथमिकतामा राखेर नियम कानुन बनाउने भएकोले उनीहरुले सृजना गरेको अवरोधले सरकारलाई खासै फरक भने पार्दैन। यद्यपि कतिपय अवस्थामा व्यवसायीहरु अदालत समेत जाँदा नियम कानुन बनाउनका लागि समय भने लाग्छ। बनिसकेका नियम कानुनलाई लागू गर्न ढिलाई गराउनु नै उनीहरुको प्रमुख लक्ष्य हुन्छ।
बनेका नियम कानुनलाई सकेसम्म उल्टाउने तथा लागु गर्ने मितिलाई लम्ब्याउनेतर्फ सुर्तीजन्य पदार्थ उत्पादक तथा व्यवसायीहरु सक्रिय हुन्छन्। कतिपय नियम कानुन कार्यान्वयन नगर्नका लागि सरकारले आदेश दिएमा केही समयका लागि कानुन कार्यान्वयन हुँदैन भन्ने उनीहरुको मनसाय हुन्छ।
उद्योगीहरुले अगामी दिनमा चाल्न सक्ने कदम
सर्वप्रथम त उद्योगी व्यवसायीहरु सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चेतावनीमुलक चित्र राख्ने भन्ने तथ्य नै मान्न तयार हुँदैनन्। उनीहरुले अन्र्तराष्ट्रिय मान्यता र अभ्यास नै गलत भएको भन्ने प्रकारका तर्कहरु समेत गर्छन्।
यसका साथै सुर्तीजन्य पदार्थको प्रयोग गर्ने वा नगर्ने भन्ने मान्छेको व्यक्तिगत जिम्मेवारी हो भन्ने तर्क समेत उद्योगीहरुले गर्न सक्छन्। अर्काे भनेको उद्योगी तथा व्यवसायीहरुले नीति निर्माणकर्ताहरुलाई प्रभावमा पारेर नीतिगत व्यवस्था नल्याउन सकिन्छ भन्नेतर्फ उनीहरुको ध्यान केन्द्रित हुन सक्छ तथा त्यसै अनुसारका कार्यहरु पनि गर्न सक्छ।
सबै प्रकारका प्रयासबाट पनि नियम कानुन बनाउनमा रोक लगाउन नसके उक्त नियम कानुनलाई कार्यान्वयन गराउनमा कसरी ढिलाई गराउने भन्ने ध्येयका साथ सुर्तीजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्नेहरुले काम गर्न सक्छन्।
शत प्रतिशत चेतावनीमूलक चित्र राख्न किन आवश्यक ?
सुर्तीजन्य पदार्थको प्रयोगलाई कम गराउनका लागि त्यस्ता पदार्थको प्याकेटमा शत प्रतिशत चेतावनीमुलक सन्देश राख्नुका साथै अन्य प्रयासहरु समेत गर्न सकिन्छ।
यसको प्रयोगले हुने असरहरुका बारेमा जनचेतना जगाएर पनि प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ। यस्ता पदार्थको सेवन नियमित रुपमा गर्दै आइरहेका मानिसहरुलाई यस्तो चेतावनीमूलक चित्रले ती पदार्थको सेवन छोड्न मन गराउने विभिन्न अध्ययनहरुले पत्ता लगाएका छन्। यद्यपि यो एउटा मात्रै कामले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सक्छ भन्ने चाँहि होइन।
कानुनले तोके बमोजिम १८ वर्षभन्दा कम उमेरका मानिसलाई सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने, फुटपाथमा बिक्री गराउन नपाइने, सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न नपाइने, मुल्य बढाउने लगायतका चौतर्फी उपायहरु अपनाएर यसका प्रयोगकर्ता घटाउन सकिन्छ।
उद्योगीहरुले सुर्तीजन्य पदार्थको बट्टालाई आकर्षक बनाएर पनि यस्ता पदार्थको बिक्री वितरण बढाउने लक्ष्य राखेका हुन्छन्। त्यसलाई रोक्नलाई समेत बट्टामा शत प्रतिशत चेतावनीमूलक सन्देश राख्न आवश्यक छ।
सुर्तीजन्य पदार्थको प्रयोग घटाउन अन्र्तराष्ट्रिय अभ्यास
सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न नदिने, कम उमेरमा तथा खुल्ला रुपमा बिक्री वितरणमा रोक लगाउने, यसका सेवनकर्ताहरुलाई परामर्श दिएर तथा विभिन्न माध्यमबाट छोड्न मन लगाउने बनाउने अभ्यास अन्र्तराष्ट्रिय रुपमा नै प्रचलित छ। मुल्य बढाएर यसको प्रयोगकर्ता घटाउने लगायतका अन्तर्राष्ट्रिय अभ्यास सुर्तीजन्य पदार्थको पदार्थको प्रयोगमा नियन्त्रण ल्याउन चलिआएको छ। यी उपायहरु प्रभावकारी समेत बनेका छन्।
(वरिष्ठ जनस्वास्थ्य प्रशासक डा उपेन्द्र ढुंगानासँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईले गरेको कुराकानीमा आधारित)