जाडो सुरु हुँदा वा मौसम फेर्दा धेरैलाई ज्वरो-खोकी लाग्छ। त्यसमध्ये ‘फ्लु’ (इन्फ्लुएन्जा) चाहिँ अलि कडा हुन सक्छ- अचानक ज्वरो, शरीर दुखाइ, र थकानले थला पार्ने खालको। फ्लु (इन्फ्लुएन्जा) भनेको इन्फ्लुएन्जा भाइरसले हुने सास–प्रश्वासको संक्रमण हो। यो साधारण रुघाखोकीभन्दा छिटो सुरु हुने र धेरैलाई थला पार्ने खालको हुन्छ।फ्लु प्रायः एक्कासि सुरु हुन्छ।
सामान्य लक्षणहरू:
• ज्वरो (कहिलेकाहीँ उच्च) र काँप्ने/चिसो लाग्ने
• जीउ/मांसपेशी दुखाइ, टाउको दुखाइ
• धेरै थकान, काम गर्नै मन नलाग्ने
• सुख्खा खोकी, घाँटी दुखाइ
• नाकबाट पातलो पानि बग्ने/नाक बन्द (कहिलेकाहीँ)
• बच्चामा कहिलेकाहीँ वान्ता/पखाला
फ्लु कसैलाई पनि लाग्न सक्छ, तर यी समूहमा गम्भीर हुने सम्भावना बढी हुन्छ:
• ५ वर्षमुनिका बच्चा
• ६५ वर्ष माथिका ज्येष्ठ नागरिक
• गर्भवती
• स्वास्थ्यकर्मी
• दीर्घरोग भएका (दम/फोक्सो, मुटु, मधुमेह, किड्नी, इम्युनिटी कम आदि)
फ्लु ‘सामान्य’ ज्वरो–खोकीमै सीमित नहुन सक्छ। केहीमा यस्ता जटिल समस्या हुन सक्छन्:
• निमोनिया (भाइरल वा पछि ब्याक्टेरियल)
• सास फेर्न गाह्रो/अक्सिजन कम हुनु
• कान पाक्ने/ साइनुसाइटिस
• दम, मुटु, मधुमेह जस्ता दीर्घरोग झन् बिग्रिनु
फ्लु (इन्फ्लुएन्जा) मुख्यतया संक्रमित व्यक्तिले खोके/हाछ्युँ गर्दा वा बोल्दा निस्कने साना थोपा र एरोसोल मार्फत सर्छ। नजिकबाट (करिब १–२ मिटर भित्र) सास फेर्दा यी कणहरू अर्को व्यक्तिको नाक, मुख वा आँखाको झिल्लीमा पुगेर संक्रमण गराउन सक्छन्। साथै, भाइरस ढोका ह्याण्डल, मोबाइल, टेबल जस्ता सतहमा केही समय रहन सक्छ, र त्यस्तो सतह छोएर हातले नाक/मुख/आँखा छोइयो भने पनि सर्न सक्छ। भीडभाड र बन्द कोठामा बसेको बेला पनि सजिलै सर्छ। फ्लु लागेको व्यक्ति प्रायः लक्षण सुरु हुनुअघि १ दिनदेखि र पछि करिब ५–७ दिनसम्म अरूलाई सार्न सक्छ (बच्चा वा कमजोर प्रतिरक्षा भएका व्यक्तिमा अझ बढी दिन हुन सक्छ), त्यसैले हात धुने, खोके/हाछ्युँ ढाक्ने, भीडमा मास्क, र बिरामी हुँदा आराम गरेर घरमै बस्ने उपायले सर्ने जोखिम घटाउँछ।

बिरामीको रोग फ्लु हो कि साधारण रुघा हो छुट्याउन केवल लक्षण हेरेर गाह्रो हुन सक्छ। जोखिम समूहमा हुनुहुन्छ वा लक्षण धेरै कडा छ भने डाक्टरको सल्लाह उपयोगी हुन्छ।
| |
साधारण रुघाखोकी |
फ्लु |
| सुरुवात |
बिस्तारै सुरु हुन्छ |
अचानक सुरु हुन्छ |
| ज्वरो |
धेरैजसो छैन वा सामान्य |
प्रायः धेरै ज्वरो |
| शरीर दुखाइ/थकान |
हल्का |
धेरै |
| जटिलता |
प्राय हुदैन |
केहीमा गम्भीर (निमोनिया आदि) हुन सक्छ |
फ्लु (इन्फ्लुएन्जा) को परीक्षण सामान्यतया नाक/घाँटीबाट स्वाब (swab) लिएर गरिन्छ, र लक्षण सुरु भएको पहिलो ३–४ दिनभित्र नमुना लिँदा परीक्षण बढी ठीक आउँछ।
फ्लु रोग लगाउने भाइरसले निरन्तर आफ्नो संरचना परिबर्तन गरि रहन्छ। जसले गर्दा रोग लागेर वा लगाएको खोपले गर्दा शरीरले बिकास गरेको रोग प्रतिरोधात्मक क्ष्यमताले काम नगर्ने हुन्छ। त्यसै कारणले बेला बेलामा फ्लु रोगले धेरै देशहरुलाई एकै पटक असर पार्दछ। बिश्व स्वास्थ्य संगठनका अनुसार फ्लुमात्रैले पनि विश्वभर हरेक वर्ष ३ देखि ६ लाख जति मृत्यु गराउन सक्छ। सबैभन्दा चर्चित उदाहरण सन् १९१८–१९१९ मा स्पेनदेशबाटफैलिएको
‘Spanish flu’ (H1N1) हो। अमेरिकाको CDC को अनुसार यसले विश्वको करिब एक-तिहाइ जनसंख्या (झण्डै ५० करोड) सम्मलाई संक्रमित गरेको र कम्तीमा ५ करोड जति मृत्यु भएको अनुमान छ।
नेपालमा २००९ तिर H1N1 (स्वाइन फ्लु) को विश्वव्यापी महामारीको बेला केसहरू पहिचान भएका थिए। त्यसपछि पनि विभिन्न वर्षहरूमा फ्लु सिजनअनुसार फैलिने गर्छ । नेपालमा फ्लुबारे मुख्य तथ्याँक National Public Health Laboratory (NPHL), टेकुमा रहेको National Influenza Centre (NIC) ले चलाउने (hospital-based sentinel) निगरानीबाट आउँछ। NIC ले राष्ट्रिय स्तरको influenza surveillance २०१० देखि गर्दै आएको छ। २०१८–२०१९ को NIC को विश्लेषणमा २६,६०३ नमुनामा ३९ % फ्लु प्रमाणित भएको थियो भने कोभिड पछि यो दर घटेर १४% को हाराहारी थियो। साथै पहिले वर्षमा दुइ पटक फैलिने यो रोग COVID-१९ ताका वर्षमा एक पटक मात्र जस्तो देखिन थालेको छ।काठमाडौंको एक अस्पतालमाको तथ्याँक अनुसार सन् २०१९मा ३५ फ्लुका बिरामीहरूमा ८८% मा निमोनिया र ७१% लाई अक्सिजन चाहिएको रिपोर्ट छ। नेपालमा फ्लु बार्है महिना देखिन सक्छ तर व्यवहारिक रूपमा मौसम फेरिदा विशेषगरी असोज–कार्तिक देखि पुष–माघसम्म बिरामीहरु बढ्ने गर्छन्।

फ्लु खोप
फ्लु खोपले फ्लु लाग्ने सम्भावना घटाउँछ। लागिहाले पनि गम्भीर हुने, अस्पताल पुग्ने, वा निमोनिया जस्ता जटिलता हुने जोखिम घटाउन मद्दत गर्छ। खासगरी जोखिम समूहमा यो अझै महत्वपूर्ण हुन्छ। खोप लगाइसकेपछि प्रभावकारी प्रतिरक्षा बन्न सामान्यतया केही दिनदेखि करिब २ हप्ता लाग्न सक्छ। नेपालमा जाडो सुरु हुनुअघि खोप लगाउने चलन धेरै ठाउँमा देखिन्छ। मुख्य अस्पताल र क्लिनिकहरुमा यो खोप सजिलै उपलब्ध हुन थालेको छ।

फ्लुको भाइरसले आफ्नो बनावटमा निरन्तर परिवर्तन गरी राख्ने भएकोले एक पटक दिएको खोपले एक बर्ष मात्रै काम गर्दछ र यो खोप वर्ष एक पटक लगाउनु पर्ने हुछ ।
| उमेर/समूह |
मात्रा |
| ६ महिनाभन्दा साना बच्चा |
दिइँदैन |
| ६ महिना–८ वर्ष |
पहिको पटक लगाइदै छ भने, कम्तीमा ४ हप्ता फरकमा २ मात्रा। हरेक वर्ष १ पटक । |
| ९ वर्ष वा माथि सबैलाई |
१ मात्रा, हरेक वर्ष १ पटक |
यी अवस्थामा खोप लगाउनु अघि स्वास्थ्यकर्मी/डाक्टरसँग सल्लाह गर्नुहोस्:
• पहिले फ्लु खोपपछि गम्भीर एलर्जी/सास फेर्न गाह्रो/अनुहार सुन्निनु वा Guillain-Barré syndrome (GBS) जस्तो प्रतिक्रिया भएको इतिहास
• अहिले धेरै ज्वरो छ वा गम्भीर बिरामी अथवा फ्लुकै लक्ष्यण छ भने—ठिक भएपछि लगाउने
अण्डा एलर्जी मात्र भएको कारणले धेरैजसो अवस्थामा खोप रोकिँदैन। तर पहिल्यै गम्भीर प्रतिक्रिया भएको छ भने खोप लगाउने ठाउँमा स्पष्ट भन्नुहोस्। फ्लु खोप बनाउने प्रक्रियामा अण्डाको प्रयोग भएको हुन्छ।
खोपलगाएपछि सुई लगाएको ठाउँ दुख्ने/सुन्निने, हल्का ज्वरो, टाउको दुखाइ, शरीर दुखाइ/थकान हुन सक्छ तर यस्ता लक्ष्यणहरु धेरैजसो हल्का हुन्छ र १–२ दिनमै घट्छ। यदि सास फेर्न गाह्रो, अनुहार/घाँटी सुन्निनु, चक्कर/बेहोस जस्तो—यस्तो गम्भीर एलर्जी संकेत आए तुरुन्त अस्पतालको सेवा लिनुहोस्।
फ्लु भएमा के गर्ने?
धेरैजसो फ्लु घरमै आरामले निको हुन्छ। तर जोखिम समूहमा हुनुहुन्छ अथवा कुनै गाह्रो लक्ष्यण छ भने चाँडो सल्लाह लिनु राम्रो।
• पर्याप्त आराम
• झोल/पानी धेरै (तातो झोल, सुप, जुस आदि)
• ज्वरो/दुखाइका लागि सुरक्षित औषधि—फार्मेसी/डाक्टरसँग सल्लाह गरेर
• अरूलाई नसार्न मास्क, हात धुने, छुट्टै बस्ने

डाक्टरले आवश्यक ठानेमा फ्लुका लागि एण्टीभाइरल औषधि (जस्तै oseltamivir) दिन सक्छन्। लक्षण सुरु भएको ४८ घण्टा भित्र सुरु गर्दा सामान्यतया बढी फाइदा हुन्छ। एन्टिबायोटिक औषधि भने यो फ्लु भाइरसमा काम गर्दैन र ब्याक्टेरियल जटिलता भए मात्र एन्टिबायोटिक दिने बारे डाक्टरले सोच्छन । Oseltamivir टेकु काठमान्डू स्थित Epidemiology and Disease Control Division (EDCD) मा डाक्टरको सिफारिसमा निशुल्क पाइन्छ।
कोभिड महामारी पछि बिर्सदै गइएको फ्लुरोगले अझै धेरैलाइ ग्रसित बनाउछ। पर्याप्त जाचको सुबिधा नहुदा रोग पहिचान नभएको अवस्था हुन सक्छ। फ्लु नियन्त्रण व्यक्तिगत सावधानी मात्र होइन, स्वास्थ्य प्रणालीको तयारी पनि हो। समुदायमा सही जानकारी, स्वास्थ्य संस्थामा छिटो पहिचान, आवश्यक ठाउँमा जाँच (RDT/PCR) को पहुँच, र उच्च जोखिम समूहका लागि समयमै ओसेल्टामिभिर उपलब्धताले अस्पताल भर्ना र जटिलता घटाउन मद्दत गर्छ। चिकित्सक, फार्मेसी, अस्पताल र सरकारले मिलेर सही बिरामीलाई सही समयमा सही सेवा सुनिश्चित गर्न सके बेला बेलामा फ्लुजन्य महामारी पनि घटाउन सकिन्छ।
-(डा गणेन्द्र भक्त राय बालरोग/बाल मुटुरोग विशेषज्ञ हुन्।)