काठमाडौं - पिसाब संक्रमण भन्नाले मिर्गौला, युरेटस, पिसाब नली तथा मुत्र थैलीको इन्फेक्सन भन्ने बुझिन्छ। यो समस्या पुरुषको तुलनामा महिलाहरुलाई बढी हुन्छ।
पानीको सेवन कम गर्नु नै पिसाब संक्रमणको प्रमुख कारण भएको विज्ञहरु बताउँछन्। पिसाब संक्रमण जटिल अवस्थासम्म पुग्दा यसले मिर्गौला नै फेल हुने अवस्था समेत आउन सक्ने भएकोले समयमा नै सजग रहन विज्ञको सुझाव छ।
पिसाब संक्रमण के हो, यसका कारण, लक्षण, जोगिने उपाय लगायतका विषयमा हामीले मिर्गौला प्रत्यारोपण सर्जन तथा यूरोलोजिष्ट डाक्टर वेश अन्सारीसँग कुराकानी गरेका छौँ। स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागार्ईले डा अन्सारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
पिसाब संक्रमण कस्तो समस्या हो ?
पिसाब संक्रमण भन्नाले मृगौला, युरेटस, पिसाब नली तथा मुत्र थैलीको इन्फेक्सन भन्ने बुझिन्छ। जसलाई अपर ट्रयाक इन्फेक्सन तथा लोअर ट्रयाक इन्फेक्सन गरी दुई भागमा विभाजन गर्न सकिन्छ। अपर ट्रयाक इन्फेक्सन भनेको मिर्गौला तथा यसबाट पिसाब आउने नलीको इन्फेक्सन हो भने लोअर ट्रयाक इन्फेक्सन भनेको पिसाब थैली अथवा पिसाब बग्ने बाटोको इन्फेक्सन हो।
पिसाबको संक्रमणको कारणहरु के के हुन् ?
पिसाब संक्रमणको प्रमुख कारण भनेकै पानीको सेवन एकदमै कम गर्नु रहेको छ। अस्पताल आउने बिरामीको संख्यााका आधारमा पानीको सेवन कम गर्ने बिरामीहरुमा पिसाब संक्रमण धेरै भएको देखिन्छ । त्यसबाहेक महिलाहरुमा रजस्वला सुकिसकेपछि हुने हर्माेनल परिवर्तन, महिलाहरुमा पिसाबको नली पुरुषको तुलनामा सानो हुनु, शारीरिक सम्पर्क पछि यौनांगको सरसफाईमा ध्यान नदिनु लगायतका कारणले पिसाब संक्रमणको समस्या हुने गर्छ।
पिसाब संक्रमण भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के के छन् ?
युरिन इन्फेक्सन भइसकेपछि धेरैलाई पिसाब फेरिसकेपछि दुख्ने गर्छ। त्यस्तै कतिपयमा पिसाब बग्दा पोल्ने समस्या पनि हुन्छ। धेरैजस्तोमा प्रमुख रुपमा यो दुई लक्षण देखिन्छ। यी लक्षणका साथै पेटको तल्लो दुख्ने, मिर्गौलाको इन्फेक्सनमा कोखा दुख्ने, इन्फेक्सन शरीरमा नै फैलिसकेको अवस्थामा ज्वरो आउने, वान्ता आउने, वाकवाकी हुने जस्ता समस्याहरु देखिन सक्छन्।
पिसाब संक्रमणको समस्या एक पटक भइसकेपछि दोहोरिने सम्भावना कतिको हुन्छ ?
युरिन इन्फेक्सन भइसकेपछि समयमा नै यसको कारण पहिचान गरी उपचार भएमा पटक पटक हुने सम्भावनालाई रोक्न सकिन्छ। जस्तै अन्य कारणहरुसँग युरिन इन्फेक्सन जोडिएको हुन सक्ने भएकोले उक्त कारणलाई बेलामा नै पहिचान गर्न सकेमा पटक पटक हुने संक्रमणबाट रोक्न सकिन्छ।
समयमा नै उपचार नभए त्यसले मिर्गौलालाई असर गर्छ की गर्दैन ?
समयमा नै उपचार नभएमा युरिन इन्फेक्सनले विकराल रुप लिन्छ। या इन्फेक्सन पिसाब नलीमा मात्रै नभई मिर्गौलासम्म पनि फैलन सक्छ। क्रोनिक पाइलोनोफ्राइटल भन्ने अवस्थासम्म जान सक्छ। यसको समयमा उपचार नभएमा त्यसका कारण धेरै प्रकारमा इन्फेक्सन हुन गई मिर्गौला समेत बिग्रने अवस्था आउन सक्छ। इन्फेक्सन पटक पटक दोहोरिएमा जटिल अवस्थासम्म जाँदा त्यसले पिसाब थैली, मुत्रथैली तथा मिर्गौलाको क्यान्सर समेत निम्त्याउन सक्छ। त्यसकारण यसको उपचार समयमा नै गराउन अत्यावश्यक छ।
बालबालिकाहरुमा डायपर लगाउने प्रचलनले पिसाबको संक्रमण गराउने सम्भावना के कत्तिको हुन्छ ?
बालबालिकाहरुमा डायपर लगाउँदैमा युरिन इन्फेक्सन हुन्छ भन्ने अवस्था हुँदैन। यद्यपि पिसाब गरिसकेपछि गुप्तांग वरिपरिको भागलाई भने सुख्खा राख्नुपर्ने हुन्छ। सुख्खापनले बालबालिकामा हुने युरिन इन्फेक्सनको सम्भावनालाई कम गर्छ। सकेसम्म ३ वा ४ घन्टामा बच्चाको डायपर फेर्नुपर्ने हुन्छ। यद्यपि बच्चाले कति मात्रामा पिसाब गरेको छ भन्नेमा निर्भर हुन्छ। लामो समयसम्म डायपर परिवर्तन नहुँदा भने ब्याक्टेरियाका कारण इन्फेक्सन हुने खतरा बढ्छ। त्यसका डायपरलाई समय समयमा परिवर्तन गर्नुपर्छ।
छोरा बच्चाहरुको लिंगको छाला पछाडी फर्कछ या फर्कदैन भनेर आमाहरुले याद गर्नुपर्ने हुन्छ। बच्चा जन्मिएदेखि नै उक्त छालालाई अलि अलि फर्काउने प्रयास गर्नुपर्छ। त्यो नफर्काएको खण्डमा इन्फेक्सन हुने सम्भावना बढी रहन्छ। नफर्काएको अवस्थामा पिसाब भित्र नै थुनिएर बस्न सक्छ। जसकारण इन्फेक्सनको सम्भावना रहन्छ। छोरा बच्चाहरुको लिंगको छाला बच्चा अवस्थादेखि नै विस्तारै फर्काउने प्रयास गर्नुपर्छ, जुन युवा हुँदासम्म पुरै फर्किनुपर्ने हुन्छ। यदि नफर्किने अवस्थामा यूरोलोजिष्टलाई भेट्नुपर्ने हुन्छ।
सार्वजनिक शौचालयको प्रयोगले पनि पिसाब संक्रमण गराउँछ ?
पुराना प्रकारका शौचालयहरुमा पिसाब गर्दा छालाको सम्पर्क नहुने भएकोले युरिन इन्फेक्सन हुने सम्भावना कम हुन्थ्र्यो। हालका आधुनिक तथा कम्बोड शौचालयहरुमा छालाको सम्पर्क हुन्छ। यस्तो अवस्थामा शौचालयको प्रयोग हुँदा अगाडि पिसाब गरेको व्यक्तिले राम्रोसँग सफा नगरेको अवस्थाामा अर्काे व्यक्तिलाई इन्फेक्सन हुन सक्ने सम्भावना रहन्छ। त्यस्तो सम्भावनाबाट जोगिनका लागि हामीले टिस्यू प्रयोग गरेर सफा गर्न सक्छौं। सरसफाईका आधारभुत कुराहरुलाई ध्यानमा राखी हामीले सार्वजनिक शौचालयहरुलाई पनि प्रयोगमा ल्याउन सक्छौं।
बारम्बार पिसाब आउनु पनि पिसाब संक्रमणको लक्षण हो ?
यदि कसैलाई २ घन्टाभन्दा कम समयमा नै पिसाब लागेको महसुस हुन्छ भने त्यो पनि युरिन इन्फेक्सनको लक्षण हुन सक्छ। यद्यपि कहिलेकाही युरिन इन्फेक्सन नहुँदा पनि यो लक्षण देखिन भने सक्छ। त्यसलाई ओभर याक्टिभ ब्ल्याडर भनिन्छ। कसै कसैको ब्ल्याडरमा पिसाब जम्मा हुने बितिकै जानुपर्ने हुन्छ। यसको उपचार युरिन इन्फेक्सनको भन्दा भिन्नै प्रकारको हुन्छ। सामान्यतया स्वस्थ व्यक्तिले २ घन्टापछि पिसाब गर्नु साामान्य मानिन्छ । २४ घन्टामा ६ देखि ८ पटकसम्म पिसाब फेर्नु साामान्य हो। कहिलेकाही तनावका कारण राती सुतिसकेपछि पनि पटक पटक पिसाब लाग्ने गर्छ।
पिसाब संक्रमणको उपचार प्रक्रियाहरु के के हुन्छन् ?
युरिन इन्फेक्सन पत्ता लगाउन सबैभन्दा पहिलो त युरिन रुटिङ इक्जामिनेसन लिने गरिन्छ। जसमा पिसाबको माइक्रोस्कोपी गरेर हेर्ने गरिन्छ। जसमा इन्फेक्सन भए नभएको, ब्याक्टेरिया भए नभएको, ब्याक्टेरिया कुन प्रकृतिको छ भन्ने पत्ता लगाइन्छ। त्यसपश्चात् कुन औषधि दिएर ठिक हुन्छ त्यसै अनुसारको औषधि दिइन्छ। थप उपचारका लागि अल्ट्रासाउन्ड गरेर हेर्नुपर्ने हुन्छ। अल्ट्रासाउन्ड र सिस्टोस्कोपीबाट पनि युरिन इन्फेक्सनको कारण पत्ता नलागेमा सिटीस्क्यान समेत गर्नुपर्ने हुन्छ। के कारणबाट युरिन इन्फेक्सन भएको हो त्यसै अनुसारको उपचार प्रक्रियाको थालनी गरिन्छ।
पिसाब संक्रमणका कारण मिर्गौलामा सामान्यदेखि जटिल कस्तो असर पार्न सक्छ ?
पिसाब पोल्ने, पेटको तल्लो भाग दुख्ने, कहिले कोखा दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता समस्या यसको सुरुवाती लक्षण हुन्। त्यस्ता समस्याको बेलामा नै उपचार नभएमा जटिल प्रकारमा समस्याहरु आउन सक्छन्। यस्तो अवस्थामा पिसाबमा रगत आउन थाल्छ। जटिल अवस्थामा मिर्गौला, फोक्सो तथा मुटुमा समेत समस्या आउन सक्छ।
पिसाब संक्रमण हुन नदिन के गर्न सकिन्छ ?
पिसाब संक्रमण हुनै नदिन गर्नुपर्ने पहिलो प्रयास भनेको शरीरका लागि आवश्यक मात्रामा पानी पिउनु हो। वयस्क मानिसले दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्ने हुन्छ। त्यस्तै पिसाब आएपछि होल्ड गर्ने बानी गर्नु हुँदैन। व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ। दैनिक रुपमा शारीरिक व्यायाम गरेमा शारीरिक प्रणालीलाई नै फाइदा गर्छ, त्यसकारण पिसाब संक्रमण हुनै नदिन शारीरिक व्यायाम पनि त्यतिकै महत्वपूर्ण छ।
अन्त्यमा मिर्गौला रोग लाग्नै नदिनका लागि यहाँ के कस्ता सुझाव दिनु हुन्छ ?
मिर्गौला रोग नै लाग्न नदिन कम्तीमा एक वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनुपर्ने हुन्छ। त्यस्तै वार्षिक रुपमा नै पिसाबको परीक्षण गर्नुपर्ने हुन्छ। पिसाबको परीक्षण, रगतको परीक्षण तथा अल्ट्रासाउन्ड गरेर रोग लाग्नै नदिने प्रयास गर्न सकिन्छ। यो गर्न सके समस्या भएपनि बेलामा नै पत्ता लाग्ने तथा उपचार प्रक्रिया सरल, छिटो र सस्तो पनि हुने गर्छ।