काठमाडौं - कलेजोमा बोसो जम्ने समस्या अर्थात् फ्याटी लिभर बढ्दो अवस्था छ। जीवनशैलीमा आएको परिवर्तन, मद्यपान, सुगर, प्रेसर लगायत समस्याका कारण फ्याटी लिभरको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।
फ्याटी लिभरले विभिन्न चरणहरु पार गर्दा कलेजो फेलको अवस्था समेत आउन सक्छ। त्यसैले समयमा नै यसको पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ।
फ्याटी लिभर के हो ? यसका कारणहरु, बालबालिकामा हुने फ्याटी लिभरको समस्या तथा यसबाट जोगिनका लागि अपनाउन सकिने उपायहरुका बारेमा हामीले नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा पुकार थापासँग कुराकानी गरेका छौँ। स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
कलेजोमा बोसो जम्ने समस्या अर्थात् फ्याटी लिभर के हो ?
कलेजोलाई आन्तरिक तथा बाह्य धेरै कुराले हानी गर्छ। कतिपय अवस्थामा हाम्रो खानपानले पनि कलेजोलाई असर गर्छ। धेरै काममध्ये बोसो अर्थात् फ्याटलाई मेटाबोलिजम गर्नु पनि कलेजोको काम हो। कलेजोको मेटाबोलिजम गर्ने क्षमता कम हुँदै गएमा वा कलेजोमा खानपान तथा विभिन्न कारणबाट बोसो बढी उत्पादन भएको अवस्थामा फ्याटी लिभरको समस्या आउने गर्छ।
फ्याटी लिभर समस्याको निम्तनुको कारणहरु के के हुन् ?
पछिल्लो समय मदिरा सेवन फ्याटी लिभरको प्रमुख कारणका रुपमा देखा परेको छ। मदिरा सेवनले कलेजमा बोसो बढी मात्रामा उत्पादन हुने गर्छ। त्यस्तै हाल मानिसहरुको जीवनशैली, खानपान, व्यायामको कमी, जंकफुडको बढी प्रयोग, सुगर, प्रेसरको समस्या, कोलेस्ट्रोरेलको समस्या लगायतले कलेजोमा नन् अल्कोहोलिक फ्याटी लिभरको समस्या देखिने गरेको छ। यो अल्कोहोलिक तथा नन् अल्कोहोलिक गरी २ प्रकारको हुन्छ। अन्य केही समस्या नभएको तर रक्सी सेवन गर्ने मानिसमा फ्याटी लिभरको समस्या देखिन सकिन्छ। त्यस्तै मोटो, शारीरिक व्यायाम कम गर्ने, खानपानमा नियन्त्रण नगर्ने मानिसहरुमा नन् अल्कोहोलिक फ्याटी लिभरको समस्या हुन्छ।
फ्याटी लिभरको समस्या महिला वा पुरुष कसलाई बढी हुन्छ ?
यो महिला वा पुरुष जो सुकैलाई पनि हुन सक्छ। यद्यपि यो समस्या बढी मात्रामा पुरुषमा देखिएको छ। जीवनशैली महिलाको तुलनामा पुरुषको नराम्रो हुने भएकोले पनि यो समस्या पुरुषमा बढी देखिएको हो।
कलेजो बिग्राने अन्य कारणहरु के के छन् ?
कतिपय अवस्थामा वंशाणुगत कारणले पनि कलेजो बिगारिरहेको हुन्छ। पछिल्लो समय खानपान तथा जीवनशैलीमा आएको व्यापक फेरबदलका कारण नन् अल्कोहोलिक फ्याटी लिभर धेरै देखिएको छ। यसका साथै भाइरल हेपाटाइटिस, हेपाटाइटिस, बी, हेपाटाइटिस सी लगायतले पनि कलेजोलाई बिग्राने गर्छ। त्यसका साथै जेनेटिक डिजिज् तथा अटो इम्यून डिजिज्का कारण पनि कलेजो बिग्राने गर्छ। त्यस्तै लामो समयसम्म कुनै औषधिको प्रयोगले पनि कलेजो बिग्रान सक्छ। कहिलेकाही आयुर्वेदिक तथा हर्बल औषधिहरुको प्रयोगले पनि कलेजो बिग्रार्ने गर्छ।
फ्याटी लिभरको समस्या मोटो मानिसमा मात्रै हुने समस्या हो ?
मोटो मानिसमा यस्तो समस्या धेरै देखिए पनि दुब्लो मान्छेलाई यो समस्या हुँदै हुँदैन भन्ने चाहि होइन। दुब्लो मानिसहरुमा बाहिरबाट हेर्दा तौल नियन्त्रणामा नै रहेको देखिएपनि भित्रि रुपमा भने मेटाबोलिक डिस् फंग्सन भइरहेको हुन्छ। कतिपय दुब्ला मानिसहरुमा पनि सुगर र कोलेस्ट्रोरेलको समस्या हुनसक्छ। यद्यपि यसको जोखिमका रुपमा भने मोटोपनालाई लिन सकिन्छ।
बालबालिकाहरुमा फ्याटी लिभरको समस्या हुन्छ कि हुँदैन ?
यो वंशाणुगत रुपमा पनि हुन सक्ने समस्या भएकोले बालबालिकालाई पनि हुनसक्छ। वंशाणुगत रुपमा जोखिममा रहेका समुहमा जीवनशैलीमा सामान्य फेरबदल, चिल्लोको केही बढी सेवन लगायतले पनि फ्याटी लिभरको समस्या आउनसक्छ। पछिल्लो समय युवा अवस्थामा नै फ्याटी लिभरको समस्या हुनेहरुको संख्या बढ्दो छ। कतिपय ७ देखि ८ कक्षामा पढ्ने बालबालिकाहरुमा पनि यस्तो समस्या देखिएको छ। बिना लक्षण नै फ्याटी लिभरको समस्या देखिन सक्छ। पाचन प्रणाली कमजोर भएका, बढी मोटो, चाँडै थाक्ने कतिपय बालबालिकामा यस्तो समस्या देखिन सक्छ। यद्यपि यसले निश्चित कुनै लक्षण देखाउँछ भन्ने छैन।
कलेजो बिग्रिएको कसरी थाहा पाउने ?
हामीले आफु कलेजो बिग्रने जोखिम समुहमा छौं कि छैनौं भनेर सबैभन्दा पहिला यकिन गर्न सक्नुपर्छ। वर्षौदेखि रक्सीको सेवन गरिरहेकाहरुले आफुलाई कलेज रोग लागेको छ कि भनेर शंका गर्नुपर्छ। त्यस्तै परिवारका कुनै सदस्यमा हेपाटाइटिस बी, सी भएको भए त्यस्ता मानिसले पनि कलेजो रोग लागेको शंका गर्नुपर्ने हुन्छ। यसका साथै थकान हुने, कलेजो दाहिने भाग गह्रौ जस्तो हुने, ज्वरो आउने पेट दुख्ने जस्ता लक्षण कतिपय अवस्थामा देखिन्छ भने कतिपय अवस्थामा भने लक्षण बिना नै फ्याटी लिभरको समस्या आउन सक्छ। रक्सी सेवन गर्ने मानिसहरु सेवन नगर्नेहरु भन्दा ७० देखि ८० प्रतिशत कलेजो रोगको जोखिममा हुने गर्छन्। यद्यपि रक्सी सेवन नगर्नेहरुमा पनि यो हुन सक्छ। यद्यपि रक्सी सेवनको अवधी,मात्रामा पनि यो रोग निर्भर हुन सक्छ। १६० ग्राम रक्सी १० वर्ष भन्दा बढी खाएमा खण्डमा लिभर सिरोसिस हुने सम्भावना बढी हुन्छ। यद्यपि रक्सी सेवनको सुरक्षित बिन्दु भने छैन। यसको जतिसुकै मात्राले पनि शरीरलाई हानी गर्छ।
फ्याटी लिभरको कुन अवस्थामा कलेजो फेल हुन्छ ?
फ्याटी लिभर कलेजो बिग्रिएको वा लिभर सिरोसिसको सुरुवाती अवस्था हो। फ्याटी लिभर कलेजोमा भएपछि यसमा नराम्रो प्रकारको चलखेलको सुरुवात हुन्छ। उक्त चलखेलले कलेजोमा फाइब्रोसिस अर्थात् कलेजो कडा हुँदै जाने गर्छ। उक्त चलखेल निरन्तर हुँदा फाइब्रोसिस विकास हुँदै जान्छ। फाइब्रोसिसको विभिन्न चरणहरुमध्ये चौँथो चरणमा कलेजो सुकेर गएको पाइन्छ। यस अवस्थामा कलेजो स्थायी रुपमा नै ड्यामेज हुन्छ। यस्तो अवस्थामा कलेजोले काम नगर्ने अवस्था आउँछ। यो अवस्था नै कलेजो फेल भएको अवस्था हो।
कलेजोमा समस्या आउन नदिन के गर्नुपर्छ ?
सबैभन्दा पहिलो त कलेजो रोग लाग्न सक्ने जोखिम अर्थात् मोटोपना,रक्सी सेवन, विलासी जीवनशैली लगायतबाट टाढा रहन सक्नुपर्छ। हेपाटाइसिस जस्ता रोग आफुलाई वा परिवारका कसैलाई छ भने समयमा नै पहिचान तथा उपचार गराउनुपर्छ। कलेजो चाँडै नै पलाउन सक्ने अंग भएपनि सिरोसिस्को अवस्थामा भने यो पलाउन सक्दैन। त्यसकारण कलेजोलाई सिरोसिस् हुनसक्ने अवस्थाबाट जोगाउन सक्नुपर्छ।