काठमाडौं- चिकित्सा शिक्षा आयोगले बंगलादेश सरकारले एमबीबीएस र बीडीएस अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति सिटमा सिफारिसका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ।
आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।
आयोगका अनुसार यस्ता छन् न्यूनतम योग्यता र छनौटका आधारहरू
१. स्नातक तहको पछिल्लो एकीकृत प्रवेश परीक्षा (MECEE - BL 2024 ) को नतिजामा सम्बन्धित शैक्षिक कार्यक्रमको योग्यतासूचीमा रहेको,
२. वैदेशिक अध्ययन अनुमतिपत्र नलिएको,
३. मिति २०८०/१०/११ गतेसम्म कुनै पनि शैक्षिक कार्यक्रममा भर्ना नभएको,
४. O-level तथा सो सरह ( SLC / SEE / SSC) को परीक्षा सन् २०२० भन्दा पहिला उत्तीर्ण भएको हुन नहुने,
५. A-level तथा सो सरह (कक्षा १२ / HSC) को परीक्षा सन् २०२२ भन्दा पहिला उत्तीर्ण भएको हुन नहुने
६. वैदेशिक छात्रवृत्तिमा मनोनयन नभएको,
७. यसै सूचनामा संलग्न Annex C मा तोकिएअनुसारको योग्यता ( eligibility) हासिल गरी बंगलादेश सरकारको छात्रवृत्ति छनौटसम्बन्धी मापदण्डहरू पूरा भएको ।
अनलाइन आवेदन दिने प्रक्रिया
१. एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारले चिकित्सा शिक्षा आयोगको वेबपोर्टल https://entrance.mec.gov.np मा ब्राउज ( browse) गरी Login बटनमा क्लिक गर्नु पर्नेछ ।
२. आफ्नो प्रोफाइलमा रहेको Application मेन्यूमा क्लिक गरी view Details मा क्लिक गर्नु पर्नेछ ।
३. MBBS र BDS कार्यक्रमको Action कोलममा रहेको Apply for Bangladesh को छेउमा रहेको Apply बटनमा क्लिक गरी Yes submit application बटनमा क्लिक गरी फारम submit गर्नु पर्नेछ ।
उम्मेदवार छनौट र छनौटपछिको प्रक्रिया
अनलाइन आवेदनको समय समाप्त भएपश्चात् आवेदन दिएका योग्य उम्मेदवारहरूमध्ये उम्मेदवारहरूले एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम भर्दाका बखत भरेको विद्यालय प्रकार र समावेशी समूह तथा योग्यताक्रमका आधारमा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९ बमोजिम म्याचिङ गरी छनौट गरिनेछ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिनेछ । निर्धारित समयमा आवेदन गरेका उम्मेदवारहरूको कम्प्यूटर प्रणालीबाट मिति २०८० माघ १४ गते म्याचिङ गरिनेछ ।