प्रश्न: – चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ? आइसक्रिम, दूध, दही, घ्यु लगायतको सेवनले रुघा तथा फ्लु लाग्छ र लागिसकेको अवस्थामा बढाउँछन्?
डा लोचन कार्कीको उत्तर : रुघाखोकी बाह्रमासे हो। राइनो भाइरस सधैं सक्रिय रहन्छ तर यसले जाडो मौसममा बढी संक्रमण गर्ने गरेको पाइन्छ। जसका कारण चिसो मौसममा प्रायःले रुघाखोकीको समस्या भोग्ने गरेको पाइन्छ। विशेषगरी जनवरीको पहिलो हप्तादेखि सुरु भएर फेब्रुअरी अन्तिमसम्म अधिकतम रुघाखोकी हुने गरेको छ।
जाडोमा रुघाखोकी बढी लाग्ने विषयलाई लिएर विभिन्न अध्ययन भएका छन्। ती अध्ययनबाट केही नतिजा पनि निस्किएका छन्। भाइरस शरीरमा पुग्ने सबैभन्दा ठूलो गेट–वे नाक हो। नाकमा भाइरसलाई भित्र छिर्न नदिने रोग प्रतिरोधी प्रणाली हुन्छ। त्यहाँ एक प्रकारका कोषिकाहरु हुन्छन्, जसले भाइरसलाई रोकिरहेका हुन्छन्। जाडोको समयमा चिसोले गर्दा त्यसको रोग प्रतिरोधी क्षमता कमजोर बनाइदिन्छ।
जाडोमा नाकमा सिँगान जम्ने, एलर्जी हुने लगायतका समस्या पनि बढी हुन्छ। त्यसमा भाइरसहरु बस्ने तथा हुर्किने सम्भावना बढी हुन्छ। यिनै कारणले गर्दा जाडोमा रुघाखोकी बढी लाग्ने गर्छ।
– चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ?
जाडोमा रुघाखोकीले बढी सताउने कारण माथि उल्लेख भइसक्यो। अब चिसो पानीले नुहाउँदा वा चिसो कपाल सहित बाहिर निस्किँदा रुघा लाग्ने केही भ्रम तथा मान्यताका विषयमा कुरा गरौं। सिधा बुझ्नुपर्ने कुरा के हो भने, चिसो भएकै कारण रुघा लाग्ने हुँदैन। रुघा राइनो भारइसका कारणले लाग्छ।
चिसो भएका कारण टाउको दुख्ने लगायतका केही समस्या भने आउन सक्छन्। जाडोमा पञ्जा नलगाई बाहिर निस्किँदा हात ठिहि¥याउने, टोपी नलगाउँदा वा हेलमेट नलगाई बाइक चलाउँदा टाउको दुख्ने जस्ता समस्या देखिन्छन्। यसको कारण हो– शरीरमा रक्तसञ्चार जति हुनुपर्ने हो, त्यति चिसोका कारणले हुँदैन। रक्तसञ्चारको बाटो खुम्चिन जान्छ। शरीरको कुनै भाग ठोक्किएर रातो भयो वा सुन्नियो भने आइसले सेक्न सल्लाह दिनुको कारण त्यही हो। चिसोले रक्तसञ्चार घटाउँछ। चिसोका कारण हुने रक्तसञ्चारको कमीले हातखुट्टा दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छ तर रुघाखोकी लाग्ने होइन।
– आइसक्रिम, दूध, दही, घ्यु लगायतको सेवनले रुघा तथा फ्लु लाग्छ र लागिसकेको अवस्थामा बढाउँछन्?
चिकित्साविज्ञान अनुसार भन्नुपर्दा दहीमा हुने प्रोबाइटिक्सले रोग प्रतिरोधी क्षमता बढाउँछ। चिसो वा चिसोजन्य खानेकुराको सेवनले भाइरस शरीरमा छिर्न सहज वातवरण बनाउने मात्रै हो। त्यसैले लक्षण देखिने यस्ता खानेकुराको प्रभाव हुँदैन। स्वस्थ रहेको अवस्थामा यस्ता खानेकुराले शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै गर्छन्। रुघाखोकीको लक्षण त भाइरस छिरेपछि मात्रै देखिने हुन्।
यदि रुघाखोकी लागेको छ भने आइसक्रम, दूध, दही, घ्यु जस्ता डेरी प्रोडक्ट नखाएको राम्रो हुन्छ। किनभने, भाइरसले नाकमा मात्रै असर गर्दैन, शरीरको प्रणाली नै कमजोर बनाएको हुन्छ। कतिपय भाइरसले पाचन प्रणालीमा समेत असर गर्छ। त्यस्तो बेला पचाउन सकिँदैन। त्यसले कतिमा बान्ता हुने र पखाला लाग्ने लक्षण समेत देखिने गरेको छ। स्पष्ट बुझ्नुपर्ने कुरा के हो भने, यस्ता खानेकुरा खाएर हुने होइन, भइसकेपछि खाएको अवस्थामा पचाउन समस्या पर्छ।
– कागती लगायत भिटामिन ‘सी’ पाइने खानेकुरा खाइरहे फ्लु तथा रुघाखोकी जस्ता समस्याले छुँदैन?
भिटामिन सीले रोग प्रतिरोधी क्षमता बढाउँछ। कागती सामान्यतया मनतातो पानीसँग खाने गरिन्छ। झोल पदार्थको प्रयोगले शरीरलाई फाइदा पुग्छ। त्यसैले यसको लाभ छ। तर भाइरस सर्नबाट जोगाउने भने होइन। भाइरस सर्ने तरिकाका विषयमा हामी सबैै कोभिडका कारण स्पष्ट भइसकेका छौं।
– मदिराले झन् समस्या निम्त्याउँछ
कतिपयले मौसमले च्यालेन्ज गर्यो भन्दै जाडोमा मदिरा सेवन गर्छन्। जसले शरीरमा न्यानोपन बढेर चिसोजन्य रोगव्याधीले नसताउने मान्यता राख्नेहरु पनि छन्। तर यसले यस्ता समस्या भइसकेकाहरुलाई निमोनिया गराउने सम्भावना अधिक हुन्छ। किनभने, मदिराले रोग प्रतिरोधी क्षमता घटाउँछ र भाइरसको संक्रमण बढाउँछ। बरु तातो झोलिलो खानेकुरा खानुपर्छ।