काठमाडौं- स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्द मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरेको अख्तियारले जनाएको छ।। उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ।
बिशेष अदालत काठमाडौंमा दायर आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरुलाई सरह सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।