हृदयघात एकदमै जोखिमपूर्ण अवस्था हो, जसलाई हाइयेष्ट मेडिकल इमर्जेन्सी समेत भन्ने गरिन्छ, किनभने यसमा बिरामीको मृत्यु हुने सम्भावना अत्याधिक हुने गर्छ। यसमा बिरामीको समयमा सही उपचार नभएमा मुटु सधैँका लागि कमजोर हुने तथा मुटुसम्बन्धी जटिलता हुने गर्छ। समयमा सही उपचार नपाएका कारण नै अधिकांश मानिसहरुको हृद्यघातका कारण मृत्यु हुने गर्छ।
किन बिरामीको उपचारमा ढिलाई हुन्छ भन्ने कुरालाई हामी दुई भागमा विभाजन गर्न सक्छौं।
१ रोग पहिचानमा ढिलाई हुनु
२ अस्पतालमा पुगिसकेको बिरामीलाई समेत उपचारमा ढिलाई हुनु।
कतिपय बिरामीहरु अस्पताल पुग्दा पनि उनीहरुको उपचारमा ढिलाई हुनेगर्छ। यसको प्रमुख कारण उपचारमा कठिन अवस्थाको सृजना हुनु हो।
हृदयघातका बिरामीको उपचारका गर्ने प्रमुख तीन तरिकाहरु हुन्छन्।
१ बिरामीको हिस्ट्री
२ उपचारका लागि आइपुगेका बिरामीहरुको हिस्ट्री
३ अध्ययन गरेपछि इसीजी परीक्षण महत्वपूर्ण मानिन्छ।
त्यसपश्चात् रगतको परीक्षण महत्वपूर्ण मानिन्छ। यी तीन चरणहरु पार गरेपछि चिकित्सकले बिरामीलाई हृदयघात भए या नभएको यकिन गर्छन्। कहिलेकाही बिरामीहरुमा लक्षण प्रष्ट रुपमा नदेखिनाले चिकित्सकहरुलाई समेत रोग पहिचान गर्नमा समस्या हुने गर्छ।
यस्तो अवस्थामा चिकित्सकहरुले इसीजीको माध्यमबाट उपचार गर्ने गर्छन्। कतिपय अवस्थामा हृदयघात भइसक्दा समेत बिरामीहरुको इसीजी सामान्य हुने गर्छ। त्यस्ता बिरामीहरुमा केही घन्टा पश्चात् मात्रै इसीजीमा हृदयघातको लक्षणहरु देखा पर्ने गर्छन्।
कतिपय सुरुवातमा गरेका रगत परीक्षण पनि हृदयघातका लक्षणहरु देखा नपर्न सक्छ। यस्तो अवस्थामा उपचार नपाएर बिरामीको मृत्यु हुने,सही उपचार नहुने तथा गलत उपचार हुने सम्भावना समेत रहन्छ। यद्यपि यस्तो प्रकृतिका समस्या एकदमै कम मात्रामा मात्रै आउने गर्छन्।
करिब दुई दशक लामो मेरो उपचार अनुभवका आधारमा भन्नुपर्दाे हृदयघात भइसकेपछि बिरामी अस्पताल आउनका लागि ढिलाई गरेका कारण धेरैको मृत्यु हुने गरेको छ। एक अध्ययन अनुसार बिरामीलाई हृदयघातको लक्षण देखिएको करिब ८ घन्टापश्चात् मात्रै अस्पताल पुग्ने गर्छन्।
जबकी हृदयघात भएको ढिलोमा पनि ३ घन्टामा बिरामीहरु अस्पताल पुग्नुपर्ने हुन्छ। यो अवधिमा अस्पताल पुगेका बिरामीहरु बाँच्ने सम्भावना अत्याधिक हुनुका साथै मुटु ड्यामेज हुने सम्भावना एकदमै कम हुन्छ।
किन बिरामीहरु अस्पताल ढिलो पुग्छन्?
जानकारीको अभाव हुनु।
मानिसहरु यसका लक्षणहरु बारे अनविज्ञ हुँदा हृदयघात हुँदा समेत बिरामीहरु ढिलो गरेर मात्रै अस्पताल पुग्ने गर्छन्। आफूलाई ग्राहो भएको कुरा घरका सदस्यहरुलाई नभन्दा हृद्यघातका कारण धेरै मानिसहरुको मृत्यु समेत हुने गर्छ। कतिपय मानिसहरु ग्यास्ट्रिकसँग झुक्दिाँ हृदयघात हुँदासमेत अस्पताल जानमा ढिलाई गर्छन्।
ग्यास्ट्रिक र हृदयघातलाई कसरी छुट्याउने?
कतिपय हृदयघातका केशहरुलाई स्पष्ट रुपमा नै छुट्याउन सकिन्छ। जस्तै छातीको बीच भागको धेरै ठाउँमा दुखेमा हृदयघातको शंका गर्न सकिन्छ। छातीको देब्रेतर्फको दुखाई घाँटीसम्म पनि आइपुगेको अवस्थामा त्यसलाई पनि हृदयघात हो भनी शंका गर्न सकिन्छ।
उक्त दुखाई कहिलेकाही देब्रे हाततर्फ तथा गिजादेखि कानसम्म पनि पनि पुग्न सक्छ। यस्तो अवस्थामा कसैलाई मन्द वा कसैलाई एकदमै दुखाई हुनसक्छ। त्यस्तै असहज हुने, वाकवाकी लाग्ने, पसिना आउने लगायतका लक्षणहरु देखापरेका हृदयघात भएको शंका गर्न सकिन्छ। यस्ता लक्षण देखिनासाथ तुरुन्तै अस्पताल जानुपर्छ।
हामीमध्ये धेरैलाई ग्यास्ट्रिकको समस्या छ, ग्यास्ट्रिक हुँदा छाती भन्दा तल पेटको भागमा दुख्ने पोल्ने,अपच अनुभव हुनु, वाकवाकी लाग्नु जस्ता लक्षणहरु देखा पर्ने गर्छ। ग्यास्टिक तथा हृदयघातको लक्षणमा हुने केही समानताका कारण हामीमध्ये धेरै जना ग्यास्ट्रिक वा हृदयघात के हो भनी छुट्याउन सकिरहेका हुँदैनौं। ग्यास्ट्रिक माथिल्लो पेटमा हुन्छ। ग्यास्ट्रिक बढी हुँदा घाँटीसम्म पनि दुखाइ वा पोलाई आउ सक्छ।कहिलेकाही देब्रेतिर ग्यास भरिएको अवस्थामा देब्रेतर्फ पनि असहज अनुभव हुने गर्छ। कहिले ढुकढुक तथा स्वाँ स्वाँ हुने समस्या पनि ग्यास्ट्रिकका कारण हुने गर्छ। यस्तो अवस्थामा ग्यास्ट्रिक वा हृदयघात के हो भनी छुट्याउनमा समस्या हुन सक्छ।
यस्तो अवस्थामा चिकित्सकले कसरी समस्या पहिचान गर्छन् यस्तो अवस्थामा सबैभन्दा पहिला चिकित्सकले बिरामीको उमेर र लिंगअनुसार रोगको पहिचान गर्छन्। पुरुषलाई महिलाको तुलनामा हृदयघात हुने सम्भावना कम हुने भएकोले यसलाई प्राथमिकतामा राख्ने गरिन्छ।
मेरो अनुभवमा ५० वर्ष भन्दा मुनिका महिनावारी हुँदै गरेका महिलाहरुमा हृदयघात एकदमै कम हुने गर्छ। कोलेस्टोरेलको समस्या भएका तथा लामो समयदेखि मधुमेहको समस्या भएका, धुम्रपान तथा मद्यपान गर्ने महिलाहरुमा भने हृदयघात हुने सम्भावना पुरुषमा भन्दा पनि धेरै हुने गर्छ। चिकित्सकले हृदयघात भएका बिरामी गलत उपचार गराएर घर नजाओस् भन्ने लक्ष्यका साथ काम गरिरहेका हुन्छौं। त्यसैले लामो अनुसन्धानका साथ चिकित्सकले काम गरिरहेका हुन्छन्।