काठमाडौं- नेपालको जनकपुरमा २०० बेडको क्यान्सर अस्पताल बनाइरहेको विनयतारा फाउन्डेसनले नयाँ चिफ डेभलपमेन्ट अफिसर नियुक्त गरेको छ। अमेरिका निवासी जस्टिन मार्कुवार्ट रुफालो नोएल लेभिट्जबाट विनयतारामा आएका हुन्।
उनी नोएलमा उपाध्यक्षका साथै सिनियर कन्सल्टेन्ट थिए। त्यसअघि साइटलाइफ र द फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विभिन्न परोपकारी कार्यका लागि कोष निर्माणमा उनको विशेष दक्षता रहेको छ। साइटलाइफमा जस्टिनले उपाध्यक्ष र बिजनेस डेभेलपमेन्टमा काम गरेका थिए । फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा उनी सहायक निर्देशक थिए।
विनयतारा फाउन्डेसन एक अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो । फाउन्डेसन अमेरिकाकै ठूलो क्यान्सर कन्फ्रेन्स गर्ने संस्था हो। जसले अमेरिकाका साथै नेपाल,भारतलगायत दक्षिण एशियाली देशहरुको क्यान्सरको उपचारमा आमजनको पहुँच पुर्याउने कार्यक्रमहरु गर्दै आएको छ। नेपालमा यसअघि सिभिल अस्पतालमा रक्तक्यान्सर उपचार केन्द्र निर्माणका लागि भूमिका खेलेको छ। अहिले मधेश प्रदेशको जनकपुरमा १५ बेडको क्यान्सर उपचार केन्द्र सञ्चालन गरेको छ भने २०० बेडको क्यान्सर अस्पताल निर्माणको तयारी सुरु भएको छ।
जस्टिनले त्यसका लागि भूमिका निर्वाह गर्नुका साथै नेपालमा निर्माणाधीन २०० बेडको क्यान्सर अस्पतालका लागि कोष विकासमा काम गर्नेछन्। उनको अनुभव, दक्षता र सिर्जनशीलताबाट फाउन्डेसनले अघि सारेका योजना कार्यान्वयनमा सहज हुने विश्वास अध्यक्ष डा विनय शाहको छ।
डा शाहले भने, 'हामी जस्टिनलाई हाम्रो टिममा स्वागत गर्दछौं। परोपरकारी कार्यमा रहेको उनको विज्ञता र दूरदृष्टिले हाम्रो लक्ष्य अझै विस्तार हुनेछ । परोपकारी कामका लागि कोष विकास गर्ने कार्यले नयाँ उचाइ लिनुका साथै हाम्रो प्रभाव विश्वव्यापी बनाउनेमा दृढविश्वास छ।'
मार्कुवार्टले आफूलाई उक्त जिम्मेवारी प्रदान गरिएकोमा फाउन्डेसनप्रति आभार प्रकट गरेका छन्। 'विश्वको क्यान्सर उपचारमा पहुँच वृद्धि काम गरिरहेको विनयतारा फाउन्डेसनसँग जोडिन पाएकोमा गौरवान्वित छु। मेरो अनुभवलाई परोपकारका लागि कोष विकास गर्ने फाउन्डेसनको अभियानमा लगाउनेछु । मेरो योगदान र कोष विकासको रणनीतिले क्यान्सरको उपचारमा विश्वको पहुँच बढाउने फाउन्डेसनको लक्ष्यमा सहयोग पुग्नेमा आशावादी छु,' मार्कुवाटले भने।