काठमाडौं- औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल)को गुणस्तर न्यून फेला पारेको भन्दै बिक्रीमा रोक लगाएको छ।
विभागले आइतबार एक सूचना जारी गर्दै कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा रोक लगाएको हो।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री/वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ।
'यस विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका ऐलोपेथिक औषधिको नमुना श्री राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं.को औषधि न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट (Dosage Form) भएको औषधि, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त ब्याच नं. उल्लेख भएका औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ,' विभागले जारी गरेको सूचनामा भनिएको छ।