काठमाडौं– देशभरका सम्पूर्ण सरकारी कार्यालय आज (मंगलबार)देखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकेको थियो। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ।
वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १.३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।