काठमाडौं- मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भयो। हृदयाघात हुनासाथ कलंकीको नेसनल अस्पताल पुर्याइए पनि डाक्टरले न्यायाधीश मरासिनीलाई मृत घोषित गरे।
न्यायाधीश मरासिनीलाई गाडी भित्रै हृदयाघात भएको पाइएको छ। कीर्तिपुरको ट्यांलाफाँट बस्दै आएका न्यायाधीश मरासिनी उच्च अदालत पाटन जाने तयारीमा थिए। निजी सवारीमार्फत अफिस (अदालत) जाँदै गरेका मरासिनीलाई भने गाडी भित्रै हृदयाघात भएको थियो।
सुरक्षा स्रोतका अनुसार न्यायाधीश मरासिनीलाई गाडीमै हृदयाघात भएपछि तत्कालै त्यहीबाट कलंकीस्थित नेसनल अस्पताल लगिएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्यो।
५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।
न्यायपरिषद्ले गत पुस १८ गते उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। मरासिनी उच्चको न्यायाधीशमा बढुवा भएपछि रौतहट जिल्ला अदालतबाट उनी उच्च अदालत पाटनमा आएका थिए।
आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो।