काठमाडौं- नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले देशभरका ५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। हाल नेपालका ४६ वटा जिल्ला अस्पतालमध्ये ४४ अस्पतालहरुले करार सेवामा जनशक्ति परिपूर्ति गरिरहेको छ।
करार सेवामा कार्यरत्त अस्पताल व्यवस्थापकका लागि लोक सेवामार्फत् सातौं तहको दरबन्दी खुलाउनुपर्ने मागसहित संघले सातै प्रदेशका स्वास्थ्य मन्त्री , स्वास्थ्य सचिव, नीति योजना प्रमुख तथा स्वास्थ्य महाशाखा प्रमुखलाई भेट गरिसकेको नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्र राज भुसालले बताए।
२०७५ मा सरकारले तत्कालका लागि अस्थायी नियुक्ति दिएको उक्त पदमा लोकसेवामार्फत् दरबन्दी खुलाउने बताएपनि हालसम्म नखुलाएपछि दबाब स्वरुप ७ वटै प्रदेशका सरोकारवाला निकायसँग उक्त विषयमा चासो राख्दै भेटवार्ता गरिएको भुसालले बताउँछन्।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ का अनुसार हरेक अस्पतालहरुमा एक जना अस्पताल व्यवस्थापन अधिकृतको दरबन्दी हुनुपर्ने व्यवस्था छ। हालसम्म वीरेन्द्र पुलिस अस्पतालमा स्थायी दरबन्दी अनुसार उक्त पदको परिपूर्ति भएको छ भने कर्णाली तथा बाग्मती प्रदेश सरकारले पनि लोक सेवा मार्फत् उक्त दरबन्दी परिपूर्ति हुनुपर्ने भन्दै निर्देशिका बनाइएको भुसालले बताए। कतिपयमा अस्पताल व्यवस्थापकलाई जनस्वास्थ्य अधिकृतसँग प्रतिस्पर्धा गर्ने व्यक्ति हुन् भन्ने भ्रम रहेकोमा त्यो सत्य नभएको भुसालको तर्क छ। उनी भन्छन्- 'जनस्वास्थ्य तथा अस्पताल व्यवस्थापकको कोर्स नै भिन्नै छ।'
‘हाल अस्पताल सञ्चालन अस्पताल व्यवस्थापन नपढेका र दक्षता नभएका व्याक्तिबाट गर्दै आएका छन् त्यसले गर्द अस्पतालको गुणस्तर, कार्यसन्चालन, सपोर्ट सेवा, मानव संसाधन व्यवस्थापन लगायतका विषयमा समस्या देखिएका छन्’ भुसालले भने, ‘लोक सेवामार्फत अस्पताल व्यवस्थापकको दरबन्दी सिर्जना गरेर लोकसेवा मार्फत जनशक्तिलाई व्यवस्थित गर्दैै अस्पतालको सेवा चुस्त बनाउनुपर्छ।’