काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्दै सहज रुपमा सेवा प्रवाह गर्न राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८लाई संशोधन गर्न लागेको छ। मन्त्रालयले निर्देशिकामा समावेश गर्ने विषयहरु उपलब्ध गराउन भन्दै सरोकारवालासँग सुझाव माग गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन समयानुकूल निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए।
'घाइते र बिरामीको अस्पताल पूर्वको स्वास्थ्य सेवालाई छिटो छरितो बनाउन र एम्बुलेन्स सेवालाई सबै घाइते तथा बिरामीले सरल र सुलभ तरिकाले प्राप्त गर्नसक्ने व्यवस्था गर्न निर्देशिका संशोधन गर्न लागिएको हो,' उनले भने, 'हाल भएका व्यवस्थालाई संशोधन, थप तथा परिमार्जन गर्नका लागि सरोकारवालाहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दा निर्देशिकाका प्रावधानहरु थप यथार्थपरक र प्रभावकारी हुने भएकाले सुझाव माग गरिएको हो।'
उनका अनुसार फागुन १५ गतेसम्म सरोकारवालाहरुले स्वयं मन्त्रालयमा उपस्थित भएर वा पत्राचारद्वारा वा ईमेल ठेगाना [email protected] मा महत्वपूर्ण सुझाव तथा सल्लाह दिन सक्नेछन्।
एम्बुलेन्स सेवालाई प्रभावकारी सञ्चार प्रणाली र प्रेषण केन्द्रको स्थापना गरि नेपालको जुनसुकै स्थानबाट तीन अंकको १०२ टेलिफोन नम्बरबाट नागरिकले सहज र सरल रुपमा आकस्मिक स्वास्थ्य सेवा सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवाको सुनिश्चितता प्रदान गर्नका लागि मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गर्दै कार्यान्वयनमा ल्याएको छ।