काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा तोसिमा कार्कीले कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्रालय र संसदीय समितिको ध्यानाकर्षण गराएकी छिन्। उनते ती निकायमा ध्यानाकर्षण पत्र दर्ता गराएकी हुन्।
उनले भनेकी छिन्, '२०५० सालमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको एक अग्रणी स्वास्थ्य संस्था र पूर्वी भेगको एक विशिष्टकृत रिफरल अस्पतालको रुपमा रहँदै आएको छ । तर बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्येको एकको रूपमा स्थापित प्रतिष्ठान आज क्षयीकरणको क्रममा छ, जुन सिङ्गो देशकै लागि दुःखद र नोक्सानको विषय हो।'
प्रतिष्ठानको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुयाउने शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा विगत लामो समयदेखि विभिन्न बाहानामा रोकिएकाले शिक्षक तथा कर्मचारीहरूमा पनि उत्प्रेरणा र ऊर्जा हराउँदै गएको उनले बताएकी छिन्। विभिन्न समयमा आन्दोलन र सम्झौताहरु हुने गरेको तर समाधानतर्फ कुनै निष्कर्षपूर्ण अग्रसरता नभएको उनको भनाइ छ।
'गत भदौ १३ गतेदेखि २४ गतेसम्म र असोज २२ देखि कार्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षकहरुको आन्दोलनले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको अवस्थामा पुनः तेस्रो पटक पुष २९ बाट सुरु भएको आन्दोलनले प्रतिष्ठानको शैक्षिक क्षेत्रलाई क्षतविक्षत बनाउँदै लगिरहेको छ,' उनको भनाइ छ। विभिन्न चरणहरुमा भएका आन्दोलनका कारण पठनपाठन र परीक्षा कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै पुष २९ बाट सुरू भएको तेस्रो चरणको आन्दोलनका कारण प्रतिष्ठानमा अध्ययनरत सबै संकायका सम्पूर्ण विद्यार्थीहरुले सामुहिक रिले अनसनमा थालेको उल्लेख छ।
'यस विषयलाई लिएर पटक पटक सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइरहेकोमा हालसम्म पनि कुनै समाधान निकै ननिस्कनु र पढ्न पाउनुपर्यो भनेर स्वयम् विधार्थीहरु नै अनसन बस्नुपर्ने अवस्था आउनु हो,' उनले भनेकी छिन्, 'यो दुखद् पक्ष अन्यौलताका कारण प्रतिष्ठानको शैक्षिक क्यालेन्डर पछि धकेलिएको त छ नै, अधिकांश ब्याचको कक्षाहरू, पोस्टिङहरू, प्रयोगशाला अभ्यासहरु पूर्णरूपमा ठप्प रहेको अवस्था छ । शिक्षक तथा कर्मचारी आन्दोलनरत भएका कारण प्रतिष्ठानमा स्वास्थोपचारका लागि आउने बिरामीले पनि उपचार नपाई फर्कनु पर्ने स्थिति रहेको छ।'
प्रतिष्ठानमा भइरहेको शिक्षक-कर्मचारीको बढुवा सम्बन्धी विवाद तुरुन्तै समाधान गरी प्रतिष्ठानका शैक्षिक तथा चिकित्सकिय गतिविधि तुरुन्तै सुचारू गर्न/गराउन उनले माग गरेकी छिन्।