काठमाडौं- स्वास्थ्य कार्यालय ललितपुरले विद्यालय तहमा अध्ययनरत्त १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेलाकाको खोप दिने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले र जिल्ला खोप समन्वय समितिले आयोजना गरेको दादुरा–रुबेला खोप अभियान अन्तर्गत आयोजित अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा विद्यार्थीलाई उक्त खोप दिइने जानकारी दिइयो।
खोप अधिकृत पार्थमणि न्यौपानेले ललितपुरका विद्यार्थी जो कक्षा १० मा अध्ययन गर्छन तर उनीहरुको उमेर १६ वर्ष छ भने तीनिहरुलाई समेत खोप लगाइदिने तयारी गरिरहेको बताए। उनले भने, “हामीले ललितपुरका ६ पालिकामध्ये महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिका एवं बागमती गाउँपालिकाभित्र आउँदो फागुन १३ देखि खोप लगाउन सुरु गर्नेछौँ भने बाँकी रहेको दुई गाउँपालिका महाङ्काल र कोञ्ज्योसोममा भने दुई दिनपछि अर्थात फागुन १५ देखि खोप लगाउनेछौँ।”
तराईका २१ र काठमाडौं उपत्यकाका ३ जिल्लाका १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरु दादुरा–रुबेला रोगबाट बढी जोखिममा रहेका आफूहरुले पाएको बताउँदै सो उमेरका विद्यार्थीको भविष्यलाई मध्यनजर गरी स्वास्थ्य शाखा ललितपुरले खोपविरुद्ध उक्त योजना बनाइरहेको समेत न्यौपानेले जानकारी गराए।
स्वास्थ्य कार्यालय ललितपुरका निमित्त प्रमुख सञ्जु रायले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि सो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएसँगै आफूहरुले पनि ललितपुरका १० कक्षामा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने तयारी गरिरहेको सुनाइन्।
जिल्ला समन्वय अधिकारी दिनेश प्रसाद थानीले ललितपुरका सम्पूर्ण बालबालिकाले उक्त खोप लिएमा दादुरा–रुबेला विरुद्ध लड्न सहयोग पुग्ने बताए। दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रमण गर्न सक्ने, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या देखिन सक्ने बताए।
उक्त रोग एक व्यक्तिबाट अर्काेमा खोक्दा तथा हाच्छ्युँ गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्कोमा हावाको माध्यमबाट पनि सर्ने र उक्त रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने आंकलन गरिएको छ।