काठमाडौं- कीर्तिपुर र ललितपुर महानगरपालिकामा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ।
महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ।
महानगरको पशु शाखाले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ।
‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ।’ महानगरले जनाएको छ।
घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ।