काठमाडौं– निदान अस्पतालले चिकित्सकलाई काम लगाउने तर तलब सुविधा भने नदिने गरेको पाइएको छ। अस्पतालले काममा खटाएर तलब नदिएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी अस्पताल सञ्चालकलाई पत्राचार गरेका छन्।
अस्पताल सञ्चालकलाई चिकित्सकहरुले पठाएको पत्र अनुसार तलब नपाउनेमा मेडिकल अफिसरदेखि विशेषज्ञ चिकित्सकहरु समेत छन्। आफूले काम गरेको पारिश्रमिक दिन बारम्बार ताकेता गर्दा पनि अस्पताल प्रशासनबाट कुनै जवाफ नआएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी पत्राचार गरेका हुन्।
निदान अस्पतालले पारिश्रमिकबाट कटाइएको कर समेत कर कार्यलयका भुक्तानी नगरेको पनि उनीहरुको आरोप छ। झण्डै ४७ जना चिकित्सकहरुले आफूले काम गरेको पारिश्रमिक नपाएको जनाएका छन्।
उनीहरुले नेपाल चिकित्सक संघ, एशोसिएसन अफ पब्लिक हेल्थ इन्स्टिीच्युसन नेपाल, ललितपुर महानगर, जिल्ला प्रशासन कार्यालय ललितपुर, श्रम कार्यालय, श्रम मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बोधार्थ गर्दै अस्पताल प्रशासनलाई पत्र पठाएका हुन्। तलब नपाएका एक चिकित्सकका अनुसार अस्पतालले पूर्णकालिन समय (फुल टाइम) काम गर्ने तथा अल्पकालिन समय (पार्ट टाइम) काम गर्ने चिकित्सकहरुको दुई वर्षअघि देखिको तलब लिन बाँकी छ।
‘मासिक तलब लिएर काम गर्ने मेडिकल अफिसरदेखि विशेषज्ञ चिकित्सकसम्मले तलब पाएका छैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ कोहीको २ वर्ष अघि कै तलब लिन बाँकी छ कसैको दुई महिना, कसैको ६ महिना छ। कतिले काम छाडिसकेर पाउन बाँकी तलब नपाएको र कतिले काम गरिरहेकै अवस्थामा पनि तलब नपाएको अवस्था छ।’